विमान सेवा मूल्याङ्कन गर्ने संस्था स्काइट्र्याक्सले सन् २०२६ का उत्कृष्ट एयरलाइन्सहरूको सूची सार्वजनिक गरेको छ। यस वर्षको शीर्ष स्थान सिंगापुर एयरलाइन्सले हासिल गरेको छ।
योसँगै सिंगापुर एयरलाइन्सले स्काइट्र्याक्सको ‘एयरलाइन अफ द इयर’ अवार्ड छैटौँ पटक जितेको छ। एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत गो चून फोङले यो सम्मान आफ्ना कर्मचारीहरूको समर्पण र व्यावसायिकताको प्रमाण भएको बताएका छन्।
युद्ध, जलवायु संकट, इन्धनको बढ्दो मूल्य र विमानभित्र यात्रुहरूको अनुशासनसम्बन्धी समस्या—यस्ता अनेक चुनौतीका बीच एयरलाइन्स सञ्चालन गर्न झन् कठिन हुँदै गएको छ। तर, केही एयरलाइन्सले यी चुनौतीका बीच पनि यात्रु सेवा र अनुभवका क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेका छन्।
विश्वभरका एयरलाइन्सलाई सम्मान गर्ने वार्षिक स्काइट्र्याक्स वर्ल्ड एयरलाइन अवार्ड्सलाई विमान उद्योगको ‘अस्कर’समेत भन्ने गरिन्छ। यस वर्षको समारोह शुक्रबार बेलायतको लन्डनस्थित प्रसिद्ध ल्याङ्हम होटलमा आयोजना गरिएको थियो।
समारोहमा सिंगापुर एयरलाइन्सलाई २०२६ को विश्वकै उत्कृष्ट एयरलाइन्सको अवार्ड प्रदान गरियो। २५ वर्षको इतिहासमा यो छैटौँ पटक हो, जब सिंगापुर एयरलाइन्सले यो प्रतिष्ठित पुरस्कार जितेको छ। यसअघि उसले सन् २०२३, २०१८ तथा २००० को दशकमा पनि यो अवार्ड जितेको थियो।
गत वर्षको विजेता कतार एयरवेज यसपटक दोस्रो स्थानमा झरेको छ। कतार एयरवेजले पछिल्लो १५ वर्षमा नौ पटक यो उपाधि जितिसकेको छ।
शीर्ष ६ मा एसियाली र मध्यपूर्वी एयरलाइन्सको दबदबा
२०२६ को सूचीमा कतार एयरवेज दोस्रो स्थानमा रहँदा क्याथे प्यासिफिक एयरवेज तेस्रो, जापानको अल निप्पोन एयरवेज (ANA) चौथो, टर्किस एयरलाइन्स पाँचौँ र एमिरेट्स छैटौँ स्थानमा रहेका छन्।
यस वर्षको शीर्ष २० मा विगतका विजेता ब्रिटिस एयरवेज भने समावेश हुन सकेन। अमेरिकी एयरलाइन्सहरू पनि शीर्ष सूचीबाट बाहिर रहे। उत्तर अमेरिकाबाट एयर क्यानडा मात्र शीर्ष २० मा परेको छ।
सिंगापुर एयरलाइन्सले समग्र उत्कृष्ट एयरलाइन्सको पुरस्कारसँगै इकोनोमी क्लास र इकोनोमी क्लास क्याटरिङका लागि पनि अवार्ड जितेको छ।
यी सबै पुरस्कार स्काइट्र्याक्सले आयोजना गरेको विश्वव्यापी यात्रु सन्तुष्टि सर्वेक्षणका आधारमा प्रदान गरिएको हो।
कतार एयरवेजलाई मध्यपूर्वकै उत्कृष्ट एयरलाइन्स घोषित गरिएको छ। उसले उत्कृष्ट बिजनेस क्लास, विमानभित्रको वाइफाइ र बिजनेस क्लास लाउन्जका लागि पनि पुरस्कार जितेको छ।
त्यस्तै, क्याथे प्यासिफिकले उत्कृष्ट केबिन क्रु र उत्कृष्ट फर्स्ट-क्लास एयरलाइन लाउन्जको पुरस्कार पाएको छ।
यस वर्षको अवार्ड समारोहमा विमान उद्योगले सामना गरिरहेका विभिन्न चुनौतीहरू पनि चर्चामा रहे। इरानसँगको द्वन्द्व, रुस–युक्रेन युद्ध, तेलको बढ्दो मूल्य, नयाँ विमानको डेलिभरीमा भइरहेको ढिलाइ तथा अमेरिका र अन्य देशबीच बिग्रँदो अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयले उद्योगलाई प्रभावित गरिरहेका छन्।
स्काइट्र्याक्सका प्रमुख कार्यकारी एडवार्ड प्लेस्टेडका अनुसार चुनौतीपूर्ण वर्ष भए पनि यात्रुहरूले प्राप्त गर्ने सेवाको गुणस्तर निरन्तर सुधार भइरहेको छ।
उनका अनुसार विमान कम्पनीहरूबीचको बढ्दो प्रतिस्पर्धाका कारण यात्रु अनुभवमा लगातार सुधार भइरहेको छ।
यसैबीच, ताइवानको उदीयमान एयरलाइन्स STARLUX Airlines ले स्काइट्र्याक्सको पाँच-तारे एयरलाइन्सको श्रेणीमा स्थान बनाएको छ। उसले विश्वकै सफा केबिनको पुरस्कारसमेत जितेको छ।
एयर फ्रान्सले उत्कृष्ट फर्स्ट क्लासको पुरस्कार जित्दा अर्को ताइवानी एयरलाइन्स EVA Air ले उत्कृष्ट प्रिमियम इकोनोमीको अवार्ड पाएको छ।
२०२६ का उत्कृष्ट पाँच बजेट एयरलाइन्समा:
AirAsia
Scoot
Vueling
Eurowings
Iberia Express
रहेका छन्।
त्यस्तै, Bangkok Airways लाई एसियाकै उत्कृष्ट एयरलाइन्स तथा विश्वकै उत्कृष्ट क्षेत्रीय एयरलाइन्स घोषित गरिएको छ।
महादेशगत रूपमा:
अफ्रिका: Ethiopian Airlines
दक्षिण अमेरिका: LATAM
युरोप: Turkish Airlines
उत्तर अमेरिका: Air Canada
उत्कृष्ट एयरलाइन्स घोषित भएका छन्।
एयर क्यानडाले उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङको पुरस्कार पनि जितेको छ।
एयर क्यानडाका कार्यकारी उपाध्यक्ष मार्क नस्रका अनुसार अहिले एयरलाइन्सहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। विशेषगरी बढी खर्च गर्न सक्ने प्रिमियम यात्रुहरूलाई आकर्षित गर्न एयरलाइन्सहरूले ठूलो लगानी गरिरहेका छन्।
उनका अनुसार इन्धनको मूल्य बढ्दै जाँदा प्रिमियम सेवाका लागि बढी शुल्क लिन सक्ने र त्यसबाट आफ्नो उत्पादन तथा सेवाको लागत धान्न सक्ने एयरलाइन्सहरूका लागि यो पक्ष अझ महत्वपूर्ण बन्दै गएको छ।
नस्रले एयर क्यानडासँग बलियो वित्तीय अवस्था, वफादार ग्राहक आधार र अनुभवी कर्मचारी भएकाले वर्तमान चुनौती सामना गर्ने क्षमता रहेको बताएका छन्।
२०२६ का स्काइट्र्याक्स उत्कृष्ट २० एयरलाइन्स
स्थान एयरलाइन्स
१ Singapore Airlines
२ Qatar Airways
३ Cathay Pacific Airways
४ All Nippon Airways (ANA)
५ Turkish Airlines
६ Emirates
७ Air France
८ Hainan Airlines
९ Japan Airlines
१० Korean Air
११ EVA Air
१२ Qantas Airways
१३ STARLUX Airlines
१४ Lufthansa
१५ Saudi Arabian Airlines
१६ Iberia
१७ Air Canada
१८ Virgin Atlantic
१९ Swiss International Air Lines
२० Thai Airways