३० बैशाख २०८१, आईतवार
Follow Us

उपत्यकासहित देशका पहाडी भेगमा आज फागु पूर्णिमा पर्व मनाईदै

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७८, बिहीबार ०४:१९

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा आज बिहीबार हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाईदैछ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

बिहीबार हिमाली र पहाडी जिल्लामा फागु पर्व मनाईदै छ भने तराई भेगमा भोलि शुक्रबार होली मनाइने छ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रङ लगाएर यो पर्व मनाउने गरिन्छ । रङ घोलेको पानी छ्यापाछ्याप पनि गर्ने गरिन्छ । फागु पूर्णिामाको अवसरमा बुधबार नै पशुपतिनाथलाई भक्तजनले लोला प्रहार गरेर अबिर चढाएका छन् ।

विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ ।

होली सुरु भएको संकेतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो । काठमाडौंको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागार्जुन वनबाट ल्याएको लिंगोमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए । यो दिनबाटै फागु पर्वको उल्लास सुरु भएको मानिन्छ ।

यसैगरी, हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिएको छ । यो चीरका लागि पशुपति श्लेषमान्तक वनबाट मयलका रुखका हाँगा ल्याइएको थियो । नेपाली सेनाको शार्दुल जङ गुल्मको टोली धलासिक्वका मानन्धर समूह र गुठी संस्थानका अधिकारीको उपस्थितिमा दरबारका यत्रतत्र चोकमा चीर ठड्याइएको छ । यो चीर आज राती मध्यरातमा ढालेपछि पर्व समापन हुन्छ  ।