२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गैरआवासीय नेपालीलाई गगन थापाले भनेः नेपालमा लगानी गर्न डराउनु पर्दैन

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७८, आईतवार १३:१०

काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन्।

आइतबार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताए। उनले नेपालको कृषि बजारमुखी हुने र मानिसलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे।

आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए। पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले भने, ‘हाम्रो कृषि बजारमुखी हुने, हाम्रा मानिसलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने। यो धन्दा मात्रै चलाइराखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन। यसलाई बदल्ने कुरा हो। यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ। कृषि क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ। अब ८/१० वर्ष ठूलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ। कनेक्टिभिटी हाम्रा लागि एकदमै ठूलो, महत्वपूर्ण च्यालेन्ज हो। हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रूपमा परिचालन गर्दा पनि बाहिरको स्रोत नल्याई, बाहिरबाट स्रोत परिचालन नगरी हामीलाई पुग्दैन।’

महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए। गैरआवासीय नेपालीको लगानीसँग नेपाली डराउनु नहुने उनले बताए। उनीहरूलाई नेपालमा लगानी गर्न दिन नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘हामी नेपालबाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ। पासपोर्ट दिन डराएका हुन्छौँ। जसरी तपाईंहरूलाई अधिकार दिन डराएका हुन्छौँ। त्यसैगरी कता–कता तपाईंहरूको लगानीसँग पनि होइन बाहिरबाट आएर कमाएर फिर्ता पो लिएर जान्छन् कि! यहाँ भएको हाम्रो जल, जमिन सबै चलाउँछन् कि भनेजस्तो हामी भारतसँग वा चीनसँग, अमेरिकासँग, युरोपसँग मात्र होइन, आफ्नै दाजुभाइ दिदीबहिनीसँग कहीँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ जसकारण हामीले हात खोल्नुपर्ने हो, त्यो हात नखोलेर मुठ्ठी कसिएको अवस्था छ। यो विषयको सन्दर्भमा नेपालको लिडरसिपले त्यो कन्फिडेन्स राख्नै पर्छ। र, यसका केही नयाँ ढंगले हाम्रो साझेदारी गर्नै पर्ने हुन्छ।’

महामन्त्री थापाले नेपालीले गैरआवासीय नेपालीको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताए।