२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री देउवा भारत प्रस्थान

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७८, शुक्रबार ०८:१३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विधाई गरेका थिए ।

प्रधानमन्त्री देउवासँग आज ४:४५ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शनिबार स्थानीय समय अनुसार विहान १०:४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११:१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२:१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४:३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४:१५ बजे स्वदेश फर्कनेछन् ।

काे–काे छन् टाेलीमा ?

प्रधानमन्त्रीको भ्रमण दलमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा आरजू राणा देउवासहित परराष्ट्रमन्त्री डा नारायण खड्का, उर्जामन्त्री पम्पा भुसाल, कृषि मन्त्री महेन्द्र यादव र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि प्रधानमन्त्रीको भ्रमण दलको सदस्य रहेका छन् ।

दिल्ली भ्रमणमा मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव मधुकुमार मरासिनी, गृहसचिव टेकनारायण पाण्डे, उर्जा सचिव देवेन्द्र कार्की, काननु सचिव उद्धवराज सापकोटा, स्वास्थ्य सचिव रोशन पोखरेल, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे सहभागी रहेका छन् ।

त्यस्तै प्रधानमन्त्रीका सल्लाहकार आरपी बिच्चा, लगानी बोर्डका सिइओ सुशील भट्ट, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी, डा साइल रुपाखेती र प्रकाश देउवा प्रधानमन्त्रीको भ्रमण दलमा रहेका छन् ।