१ जेष्ठ २०८१, मंगलवार
Follow Us

होस्टलमै झुन्डिएको अवस्थामा विद्यार्थी

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७८, शनिबार ०५:१४

काठमाडौं । राजधानीको टाइम्स कलेजमा ११ कक्षामा अध्ययनरत रही डिल्लीबजारस्थित लुम्बिनी ब्वाइज होस्टेलमा बस्दै आएका १९ वर्षका मनीष सेन्चुरीको शव होस्टलमै झुन्डिएको अवस्थामा फेला परेको छ ।

सेन्चुरीको शुक्रबार बिहान झुन्डिएको अवस्थामा होस्टलको कोठ नम्बर ७ मा शव फेला परेको हो । उनको मृत्युलाई परिवारले शंकास्पद भनेको छ । सर्लाही लालबन्दी नगरपालिका–२ स्थायी घर भएका उनी विगत आठ महिनादेखि सो होस्टलमा बस्दै आएका थिए ।

परिवारका अनुसार सेन्चुरी होस्टलको तेस्रो तल्लामा रहेको कोठामा बस्थे । उनको शव सो कोठाको पूर्वपटीको झ्यालको पर्दा अड्याउने डन्डीको क्लिपमा कलेजकै टाईमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

घटना हत्या हो या आत्महत्या भन्ने विषयमा महानगरीय प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ । वृत्तका डीएसपी भरत श्रेष्ठले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र घटना हत्या वा आत्महत्या भन्ने विषय पोस्टमार्टम रिपोर्टबाट खुल्ने बताए ।

प्रहरीका अनुसार मृतक सेन्चुरीको रुम पार्टनर अर्को कोठामा सुतेका थिए । सो कोठमा भने उनी मात्रै थिए । बिहान ७ बजेसम्म कोठाबाट ननिस्किएपछि वाडेनले उनको ढोकामा पटकपटक ढकढक्याएका थिए । तर पनि ढोका नखोलिएपछि ढोका फुटाएर हेर्दा झुन्डिएको अवस्थामा भेटिएको थियो । लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

परिवार निकटका अनुसार मृतक सेन्चुरीको घाँटीमा टाईको सुर्कानो छ भने शव भुइँमा खुट्टाले छोएको अवस्था थियो । सोही कारण परिवार र आफन्तले घटनालाई शंकास्पद मानेका हुन् ।

परिवारले शारीरिक रूपमा कुनै पनि समस्या नभएको र सम्पन्न परिवारका व्यक्ति भएकाले सेन्चुरीको मृत्युलाई होस्टलको लापर्बाही भनेका छन् ।