२६ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा मनाइयो बिस्केट जात्रा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७८, सोमबार १५:३२

लण्डन । नयाँ वर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक तथा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छविकालीन बिस्केट जात्रा लण्डनमा पहिलो पटक भव्य रुपमा मनाईएको छ । नेपालको भक्तपुरमा नयाँ वर्षको चार दिन अघिदेखि शुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केटजात्रा लण्डनमा भने पहिलो पटक भव्य रुपमा मनाईएको हो ।


नेवार समुदायको लोकप्रिय साँस्कृतिक पर्व बेलायतमा नेवारी भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनमा सक्रिय पासा पुचः गुथि यूकेको आयोजनामा मनाईएको हो । प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा एक विशेष कार्यक्रम आयोजना गरि यो जात्रा मनाईएको हो । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै राजदुत आचार्यले नेवार समुदायको संस्कृति संरक्षणका लागि गुथीले गरेको कार्यक्रम निकै महत्वपुर्ण रहेको बताए ।

उनले नेपालीहरु सांस्कृतिक विविधतामा धनी रहेको भन्दै नयाँ पुस्तालाई मौलिक संस्कृतिहरु पुस्तानान्तरण गर्नुपर्ने धारणा राखे । परम्परागत शैलीमा जात्रामा तान्नको लागि रथ नै तयार गरिएको थियो ।

गुथिले हरेक दुइ वर्षमा आयोजना गर्दै आएको ‘नेवा मुना’ को अवसर पारेर यस पटक बिस्केटजात्रा गरेको र आगामी वर्षहरुमा निरन्तर रुपमा गरिने अध्यक्ष ओजेश सिंहले लण्डन नेपाल न्यूजसगं बताए । बेलायतमा नेवारी संस्कृति र परम्पराको प्रवर्द्धन तथा उदाउँदै गरेका नयाँ पुस्तालाई संस्कृति र मौलिकता एवम् पर्वहरु हस्तान्तरण गर्नु नै जात्राको प्रमुख लक्ष्य रहेको सुशील प्रजापतिको भनाई छ । जात्राको संयोजन पासा पुचः गुथिको साउथ इष्ट लन्डन शाखाले गरेको थियो ।

भने कार्यक्रमको सयोंजन शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका हुन् । जात्रामा बेलायतभरबाट ६५० भन्दा बढीको सहभागिता रहेको थियो । बिस्केट जात्राकै अवसर पारेर नेवारी मौलिक खानाका परिकारहरु पनि आकर्षणको रुपमा राखिएको थियो ।यसैगरी कार्यक्रमको प्रमुख स्पोन्सर ‘ए स्टार’ फाईनान्सियल सोलुसन युकेले गरेको र ‘ए स्टार’ले आफ्नो साउथ इष्ट लण्डनको वुल्लिचमा नयाँ शाखा विस्तार गरेको समेत जनाकारी दिएको थियो ।

विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केटजात्रा बिःसीत अर्थात् नागनागिन मऱ्यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको किम्वदन्ती पाईन्छ । यस दिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेअनुसार यो जात्रालाई शत्रुहन्तजात्रा पनि भन्ने गरिन्छ ।

नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मऱ्यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा भई अपभ्रंशबाट बिस्केटजात्रा हुन गएको जानकारहरुको भनाई छ ।


फोटो : शिव भण्डारी