४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७९, शनिबार १४:१९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको प्राधिकरणको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि विमानस्थलमा आन्तरिक उडान शुरु गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्ध जयन्तीका दिनबाट शुरु हुने उहाँको भनाइ छ ।

महानिर्देशक अधिकारीले पोखराको विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको र ढिलोमा अंग्रेजी नयाँ वर्ष र छिटोमा दशैंसम्ममा यो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने बताउनुभयो ।

पोखरा विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अबको १५ देखि २० दिनभित्रमा डाँडा कटानको काम शुरु गर्ने र कटान दुई महिनामा सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।

महानिर्देशक अधिकारीले कोरोना भाइरसपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने समेत बताउनुभयो । त्यस्तै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि २४ सै घण्टा खुल्ला गर्ने र गौतमबुद्ध तथा पोखरा अन्तर्राट्रिय विमानस्थल पनि सञ्चालनपछि २४ सै घण्टा खुल्ला गर्ने जनाएको छ ।

रात्रीकालीन उडान भइरहेका तराईका विमानस्थलका सेवा राति १२ बजेसम्म बढाउने योजना रहेको प्राधिकरणले जनाएको छ ।