२५ बैशाख २०८१, मंगलवार
Follow Us

अर्थमन्त्रीको मात्रै दोष छैन : अध्यक्ष प्रचण्ड

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७९, बिहीबार ०६:०४

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैङ्क गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् ।

आज (बिहीबार) धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएको जिकिर गरेका हुन् । उनले सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएकोसमेत बताए ।

‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रस्ट भइसकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘१३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ । अहिले सकिँदैन ।’

२४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैङ्क फर्किने बाटो गत मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो । मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि नैतिक प्रश्न उब्जिएको थियो । अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमा त्यस्तो निर्णय भएको बताएका हुन् ।