२५ बैशाख २०८१, मंगलवार
Follow Us

भरतपुरमा मेयरको चाबी असन्तुष्ट कांग्रेसको हातमा

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७९, शनिबार १५:१८

काठमाडौं । चितवनको भरतपुर महानगरपालिको निर्वाचन यसपटक सत्तारुढ र विपक्षी गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ । अन्य ठाउँभन्दा भरतपुरको जित हारले दुवै पक्षलाई विशेष अर्थ राख्छ । अनेक प्रयत्नका बावजदु कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि चुनावी दौड रोचक मोडमा पुगेको छ ।

पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले भुइँकटहर चुनाव चिन्ह दिएको छ । पार्टीबाट विद्रोह गरेका पौडेललाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरिसकेको छ । सत्ताको दुरुपयोग गर्दै सरकारका दुई मन्त्री दुई दिन चितवनमा डेरा जमाएर बस्दा पनि पौडेलले आफ्नो अडान छोडेनन् ।

पौडेलले अडान नछाडेसँगै उनले गठबन्धनका उम्मेदवारको कति मत काट्छ भन्ने चासो बढेको छ । अघिल्लो पटकको निर्वाचनमा मेयरमा रेनु दाहालले झिनो मतान्तरले जितेकी थिइन् । उनले ४३ हजार १ सय २७ मत ल्याउँदा नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

अर्थात, २ सय ३ बढी मतले रेनुले मेयरको ताज पहिरिएकी थिइन् । अघिल्लो निर्वाचनमा पनि माओवादीले कांग्रेससँग हातेमालो गरेको थियो । अहिले देखिएको जस्तो किचलो त्यतिबेला काँग्रेसमा नदेखिँदा पनि काँग्रेसबाट अपेक्षाकृत मत दाहाललाई गएको थिएन ।

२९ वटा वडा रहेको महानगरमा वडागत रूपमा हेर्दा कांग्रेसले ३८ हजार १ सय ३७, एमालेले ३८ हजार ७९ र माओवादीले २० हजार ३ सय ३२ मत ल्याएको देखिन्छ ।

अहिलेको निर्वाचनमा एमालेले मेयरमा स्थानीयस्तरमा लोकप्रिय नेता विजय सुवेदीलाई अघि सारेको छ । कांग्रेसभित्रको किचलोले सत्ता गठबन्धन चुनावी प्रचारमा आक्रामक ढङ्गले उत्रन सकेको छैन । एमाले राप्रपा गठबन्धनबाट मेयर पदमा उम्मेदवार सुवेदीले भने प्रचार तथा घरदैलोलाई तीव्र पारेका छन् ।

बागी बनेका पौडेललाई चितवन कांग्रेसका ठूलो पंक्तिले साथ दिएको छ । उनलाई जिल्लाका प्रभावशाली नेताहरूले समर्थन गरेका छन् । जसले गर्दा सत्ता गठबन्धनलाई निर्वाचनको परिणाम हातबाट फुत्कने हो कि भन्ने डर छ ।

उता, कांग्रेसभित्र देखिएको कलहले दंग परेको परेको एमाले पनि बागी पौडेलकै कारण ढुक्क हुन सकेको छैन । कांग्रेसका असन्तुष्ट कार्यकर्ताको मत आफूतिर आउने सोचेको एमाले अब पौडेलतर्फ मत जाने भन्दै चिन्तित देखिएको छ ।

५ वर्ष भरतपुर हाँकेकी रेनु व्यक्तिगत रूपले पनि अघिल्लो पटकभन्दा सबल देखिन्छिन् । मतदानको अन्तिम क्षणसम्म आइपुग्दा कांग्रेसका असन्तुष्ट कार्यकर्ताको लहर कता ढल्किन्छ त्यसैले चुनावी परिणामलाई डो¥याउने धेरैको आँकलन छ ।