१४ जेष्ठ २०८१, सोमबार
Follow Us

३५ लाख लुट प्रकरणमा प्रहरीकै समूह

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७९, सोमबार ०५:०३

काठमाडौँ । काठमाडौँको लैनचौरबाट ३५ लाख लुटपाट भएको घटनामा प्रहरीकै समूह संलग्न देखिएको छ । जेठ ८ मा लैनचौरस्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समूहले व्यापारीलाई लुटेका थिए ।

सो लुटमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी वृत मालिगाउँका हवल्दार सालिकराम नेपालीलाई पक्राउ गरेको छ । हवल्दार नेपालीलाई प्रहरी वृत सोह्रखुट्टेमा थुनामा राखिएको छ । लुटमा संलग्न अर्का एकजना पनि पक्राउ परेका छन् । लुटपाट भएको समयमा हवल्दार नेपाली ब्याडमिन्टन कोर्टमा गएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँले लुटमा प्रहरी संलग्न भएको तथ्य औपचारिक रूपमा पुष्टि गरेको छैन् ।

परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले सो घटनाबारे अनुसन्धान भइरहेको बताए । तर, प्रहरी पक्राउ बारे उनले बताउन चाहेनन् । लुटपाटमा नेपाल प्रहरी सङ्गीत विद्यालय र मानव बेचबिखन ब्युरोमा कार्यरत एकजना प्रहरीको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताएका छन् । ​