४ असार २०८१, सोमबार
Follow Us

इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ औं रजत जयन्ती मनाए (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०८१, सोमबार ०८:३१

भूमिराज राई मेडवे केन्ट । २५ मे शनिबार २०२४ का दिन आस्कोट रेसकोर्सको मुख्यहल द पाभिलियन हलमा भब्य रुपमा ब्रिटिश सेनाको बृगेड अफ गोर्खाजमा भर्ति भएको २५ औं बर्ष गाँठको अवसरमा रजत जयन्ती (सिल्भर जुबिली) मनाउँदै इन्टेक १९९९ मा भर्ती हुने गोर्खालीहरु र परिवारले शुभकामना र बधाई साटासाट गर्दै खुशियाली मनाए ।
सन् १९९९ सालको जनवरी २१ तारिखमा हजारौं आकांक्षी प्रतिष्पर्धि मध्य २३० जना छनौटको अन्तिम चरणमा छानिएर भर्ति भएका इन्टेकका गोर्खालीहरुको २५ औं बर्ष गाँठ भब्य रुपमा मनाउने सहमति अनुसार उपयुक्त समय र स्थानको छनौट पछी यो बर्षको कार्यक्रम आयोजक युनिट दोश्रो शाही गोर्खा राइफल्स (2nd Royal Gurkha Rifles) का तर्फबाट इन्टेक १९९९ का सदस्य नवल राईको संयोजकत्वमा भब्य कार्यक्रम स्थल आस्कोट रेसकोर्सको पाभिलियनमा सुन्दर सजावट सहित उत्कृष्ठ तरिकाले कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमहल सम्म पाइपरले पाइपको धुन बजाउँदै सम्पूर्ण सहभागी इन्टेक ९९ र परिवारलाई सम्मानका साथ् रातो कार्पेट बाट हल प्रवेश गराईएको थियो । सबै सहभागीहरुलाई आयोजक युनिटले इन्टेक ९९ को पच्चीसौं बर्ष गाँठको लोगो भएको खादा र ब्रोच लगाई दिंदै स्वागत गरेको थियो ।

बिशेष कार्यक्रमहरु

कार्यक्रम संयोजक नवल राईले सुरक्षा सम्बन्धि जानकारी दिनु भए पछि, स्वागत मन्तब्य श्रीमती शर्मिला राईले सम्पूर्ण श्रीमतीहरुको प्रतिनिधित्व गर्दै इन्टेक ९९का सदस्यहरुलाई कार्यक्रममा स्वागत र २५ सौं बर्षको रजत जयन्तिको अवसरमा सम्पूर्णलाई बधाई अनि शुभकामना दिनु भएको थियो ।

अफगानिस्तानमा युद्दका बेला बिद्रोहीहरुले थापेको धरापमा अचानक टेक्दा धराप बिष्फोटनमा परेर घुँडा माथि दुवै खुट्टा गुमाउनु भएका योद्दा हरि बुढा मगरले पहिलो पटक विश्वको सर्बोच्च शिखर सगरमाथा सफलता पूर्बक आरोहण गरेर बिश्व किर्तिमानी रेकर्ड राख्न सफल हुनु भएको र इन्टेक ९९ को नाम राख्न सफल हुनु भएकाले उहाँलाई इन्टेक ९९ का तर्फबाट बधाई सहित सम्मान गरिएको थियो ।

यस अघि इन्टेक ९९ का याम गुरुङ् र अर्का एकजना राई ( उहाँ अहिले स्पेसल एयर सर्भिस special Forces SAS) बिशेस सुरक्षा दस्ताको युनिटमा कार्यरत हुनु भएकाले नाम गोप्य राखिएको ) द्वारा सेवारत गोर्खालीहरुको टोलिमा सहभागी भएर गोर्खा भर्तिको २०० बर्षको बर्ष गाँठको उपलक्षमा सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सक्नु भएको छ । हरी बुढा मगर सहित इन्टेक ९९ का तीनजनाले सगरमाथाको शिखरमा पाइला राखी सक्नु भएको छ ।

गोर्खाली खुखुरीले इन्टेक ९९ को बिशेष केक संयुक्त रुपमा काटेर पच्चीसौं बर्ष गाँठको खुशी साट्दै सहभागीहरुले एक अर्कालाई बधाई र शुभकामना दिनु भएको थियो ।

आस्कोट रेसकोर्सको स्टेडियमा बसेर सहभागी सबैको ग्रुप फोटो सेसन पश्चात सेवा प्रदान गर्नु हुने, फोटो ग्राफर मोहन सिङ तामाङ् (पूर्ब गोर्खा) र उहाँको टिम, खाना र पेय उपलब्ध गराउनु हुने ओजोन रेस्टुरेन्टका संचालक आनन्द राई ( पूर्ब गोर्खा), साज सज्जा (Event Decoration) स्काई इभेन्ट्स प्लानर (पूर्ब गोर्खाको सन्तान), कार्यक्रममा नृत्य गर्ने छोराछोरीहरु, साउण्ड, डिजे र ब्याण्ड अनि बार टेण्डर सबैलाई आभार पत्र र नगद उपहार दिएर धन्यबाद सहित सम्मान गरिएको थियो ।

अधिकांश इन्टेक ९९ का सदस्यहरु ब्रिटिश सेनाको सेवाबाट अवकाश पाई सक्नु भएको भए पनि एक दर्जन बढी अधिकृत र केहि अन्य सकल र अरु दर्जामा पदोन्नति हुनु भएका गरी झन्डै दुई दर्जन बढी सदस्यहरु अझै सैन्य पेशामा कार्यरत हुनुहुन्छ । प्राय सबै अधिकृतहरुले महत्वपूर्ण भूमिका र जिम्मेवारी सम्हाली रहनु भएको छ त्यस मध्य हाल दुइजना अधिकृतहरु क्याप्टेन लाख बहादुर गुरुङ र क्याप्टेन बिबेक जंग शाह MBE (Member of British Empire) युकेका राजाका बिशेष गोर्खाली अर्दली अफिसर (Kings Gurkha Orderly Officers, KGOOs) का रुपमा कार्यरत हुनुहुन्छ ।

इन्टेक १९९९ मा भर्ति भएका गोर्खालीहरुले सैनिक क्रमसंख्या (Army Number) 21169962 देखि 21170191 सम्म प्राप्त गरेका थिए । यस मध्य एक जना सदस्य युबराज राई अफगानिस्तानको युद्दका क्रममा विद्रोहीहरूसँगको गोलिहानाहानको क्रममा विद्रोहीले अन्धाधुन्द प्रहार गरेको गोलि लागेर बीरगति प्राप्त गर्नु भएको थियो भने एकजनाको सडक दुर्घट्ना, एकजनाको आगलागी र अर्को एकजनाको अन्यकारण दु:खद निधन भएको थियो ।

यो इन्टेकका सदस्यहरुले ईराक, बोस्निया, कोसोभो (बाल्कान्स), सियरा लिओन, अफगानिस्तान लगायतका देशमा युद्द र शान्ति स्थापनार्थ शान्ति सेनाका रुपमा तथा लडाईं गर्न ब्रिटिश सेनाका तर्फबाट प्रतिनिधित्व गर्दै तैनाथ भएर सेवा गरेका थिए भने विश्वका धेरै देशहरुमा सैन्य तालिमका शिलशिलामा पुगेर तालिम सम्पन्न गरेका थिए ।
धेरै इन्टेकका सदस्यहरुले उच्च सैनिक सम्मानका पदक र तक्मा साथै धेरै किर्तिमान कायम गर्न सफल हुनु भएको छ।

२५ सौं रजत जयन्तीका क्रममा भर्ति भए देखि अहिले सम्मको उपलब्धि, सहयात्रा, तितामिठा सम्झनाको रुपमा आयोजकका तर्फबाट खोजेर पाएको सम्पूर्ण फोटोहरुको स्लाइड सो आस्कोट रेसकोर्सको मुख्य ठूलो स्क्रिन र कार्यक्रम हल लगायत अन्य स्टलहरुमा उपलब्ध दुइ दर्जन बढी स्क्रिनहरुमा लगातार प्रदर्शन गरिएको थियो ।

आगामी बर्षको इन्टेक एन्निभर्सरि कार्यक्रम आयोजक युनिट क्विन्स गोर्खा इन्जीनियर ( QGE ) का संयोजकलाई कार्यक्रम गर्ने जिम्मेवारी हस्तान्तरण गर्दै आउने बर्षको कार्यक्रम झन् भब्य रुपमा हुने अपेक्षा रहेको जानकारी दिंदै ब्याण्ड र डिजेको सांगीतिक प्रस्तुतिमा इन्टेक ९९ का सदस्यहरुले दिउँसो दुई बजे देखि मध्यरात सम्म खुशियाली साट्नु भएको थियो ।

भब्य कार्यक्रमलाई मौसमले पनि अत्यन्तै राम्रो साथ् दिएकाले कार्यक्रम झनै रमाइलो भएको थियो ।
कार्यक्रम अत्यन्तै भब्य र सानदार तरिकाले आयोजना गरेको प्रति आयोजक युनिट २ आर जी आर र कार्यक्रम संयोजक नवल राई प्रति इन्टेक ९९ का सहभागी सदस्यहरुको बधाई र धन्यबाद दिंदै खुशी ब्याक्त गर्नु भएको थियो ।

फोटो: मोहन सिङ तामाङ/भूमिराज राई