६ जेष्ठ २०८१, आईतवार
Follow Us

राप्रपामा फर्किए उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार ०६:०७

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । तर गत वैशाखमा उनीहरू राप्रपा नेपालबाट अलग भएका थिए ।

कमल थापाले राजसंस्था नबोक्ने निर्णय गरेपछि र स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल र गुरुङ असन्तुष्ट थिए । पौडेल राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष र गुरुङ केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए ।

राप्रपामा उनीहरूलाई के जिम्मेवारी दिने भन्ने टुङ्गो लागिसकेको छैन । तर अध्यक्ष लिङ्देनले उचित जिम्मेवारी दिने बताएको उनी निकट स्रोतले बताएको छ ।