लन्डन । कतारमा कार्यरत महिला श्रमिकहरुको लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ ।
गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्रगतको स्वास्थ्य समिती र एनएअरएन कतारको महिला विभागको सहकार्यमा शुक्रबार अयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए । उहाँले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्न्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेपाली महिलाले आफुलाई परेको समस्याहरु खुलस्त राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथी स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले उक्त कार्यक्रमको प्रसंशा गर्दै बिभिन्न देशहरुमा नेपालीहरुको आत्महत्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाचो भएको बताउनुभयो ।
एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिदैं गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमा एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिनुभएको थियो ।
सन् २०११ देश कतारमा कार्यरत डा. अर्यालले कतारमा मुख्य रुपमा नेपाली श्रमिकहरुको लागि भाषाको समस्या रहेको बताउनु भयो । उहाँले जनचेतनाले मानिसहरुको जिवन बचाउन ठूलो भूमिका हुने बताउनुभयो । उहाँले कतारमा रहेका धेरै नेपाली महिलाहरुलाई टाउको दुख्ने समस्या धेरै रहेको बताउनुभयो । उहाँले नेपाली महिलाहरुलाई स्वास्थ्यमा समस्या आउदा वित्तिकै कतारमा रहेका वा नेपालमै रहेका भए पनि चिकित्सकहरुसंग सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
गाइनोलोजिस्ट डा. सुमित्रा थापाले महिलामा सेतो पानी बग्ने, गनाउने, चिलाउन जस्ता समस्या देखिएमा समयमै चिकित्सकहरुको सल्लाहा लिन आग्रह गर्नुभयो । उहाँले नेपाली महिलाहरुम युरिन इन्फेक्सन्, महिलावारी गडबढी हुने, रगत बग्ने लगायतका समस्या रहेको बताउँदै खानापान र जिवनयापन शैलीमा ख्याल गर्न आग्रह गर्नु भयो ।
त्यस्तै नेपाली महिला समाज कतारकी प्रमुख सल्लाहकार अमिना खानले महिलाहरुबाट यस अघि नै स्वास्थ्य सम्बन्धी गुनासाहरु आउने गरेको जानकारी दिदै स्वास्थ्य जनचेतना कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघकी उपाध्यक्ष यास्मिन सैयद बेगम, नेपाली महिला समाज कल्याणकी अध्यक्ष सरिता भण्डारी, उपाध्यक्ष माया केसी लगायतले आआफ्ना भनाईहरु राखेका थिए ।
यसअघि गैरआवासीय नेपाली संघकोे स्वाथ्य समितिले विदेशमा रहेका नेपालीहरुको मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, कोभिड १९ को प्रभावित लगायतका विषयमा स्वास्थ्य जनचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।