१२ भाद्र २०८२, बिहीबार
Follow Us

१ करोडको प्रतिबद्धताविपरित एनआरएनएद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख मात्र सहयोग

नेपालब्रिटेन डट कम्
८ असार २०७९, बुधबार १८:३४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफैले गरेको १ करोड रुपैया सहयोगको प्रतिवद्धता विपरित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख मात्र सहयोग गरेर पन्छिएको छ ।

गैरआवासीय नेपाली संघले बुधवार सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई १२,८७,५८०।४८ (बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसा ) को चेक हस्तान्तण गरेको छ ।

गैरआवासीय नेपाली संघको निवर्तमान एक उच्चपदाधिकारीका अनुसार संघले महावीर पुनको उपस्थितीमा गत वर्ष एक कार्यक्रमको आयोजना गरेर न्यूनतम १ करोड रुपैया सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । ती पदाधिकारी भने ‘पहिलो बैठकमा २५ लाख रुपैयाँको प्रतिबद्धता आएको थियो तर जम्मा १२ लाख मात्र कसरी हस्तान्तरण गरियो त्यसको खोजि हुनुपर्छ’ । उनले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग दिने भनेर घोषणा गरेकाहरुसंग पैसा किन मागिएन त्यसको बारेमा छानविन हुनु पर्ने बताए ।

उक्त चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनलाई हस्तान्तण गरे पछि संघका कयौ पदाधिकारीहरुले समेत विरोध जनाएका छन् ।

गैरआवासीय नेपाली संघ एशिया क्षेत्रीय संयोजक पारशमणी पोखरेलले सो कार्यक्रमको कन्सेप्ट आफ्नो रहेको र आर्थिक संकलनमा ठूलो सहयोग गरे पनि पैसा हस्तान्तरणको कार्यक्रममा उनीनै अनभिज्ञ भएको बताए । सो कार्यक्रमको संयोजक पोखरेलले गरेका थिए ।

पूर्वकोषाध्यक्ष समेत रहेका महेश श्रेष्ठले गत कार्यकालको प्रतिबद्धताको समेत ख्यालनै नगरि कार्यक्रममा सहभागी भए ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी दिए ।

कार्यक्रममा डा महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।

विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताए।

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिए । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताए ।

कार्यक्रममा संघका विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए ।

धेरै पढिएको