१ जेष्ठ २०८१, मंगलवार
Follow Us

घोराहीका पानी ‘बा’ !

नेपालब्रिटेन संवाददाता
३२ असार २०७९, शनिबार ०५:५३

दाङ । कसैलाई अप्ठ्यारो पर्‍यो भने सम्झनै पर्ने नाम हो- देवी वकिल । २०३५ देखि २०४१ सालसम्म वकालत पेशा गर्दै आएका दाङ घोराहीका उनै देवी वकिल आजभोलि पानी ‘बा’ को नामले परिचित छन ।

कसैलाई दुःख पर्‍यो भने सहयोग गर्न घर घरमा पुग्ने पानी ‘बा’ अर्थात देवीबहादुरको दिनचर्या नै हो । बिहान उठेदेखि राति नसुत्दासम्म हरेक उपभोक्ताको धारामा पानी आयो आएन भनेर हेर्ने र कसैको धारा बिग्रिएको छ छैन खोज तलास गर्नु उनको काम हो ।

यसरी पानी ‘बा’ को छवि बनाएका देवीबहादुर डिसी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा सातौँ पटक निर्वाचित भएका छन ।

२०५३ सालदेखि संस्थामा आबद्ध रहदै आएका पानी ‘बा’, सर्वसाधारणलाई पानी खुवाउनु आफ्नो मुख्य धर्म रहेको बताउँछन ।

गत असार २४ मा भएको संस्थाको निर्वाचनमा डिसीको नेतृत्वमा सत्ता साझेदार दलको तर्फबाट सम्पुर्ण प्यानल नै बिजयी भएको हो ।

तीन-तीन बर्षमा हुने खानेपानीको निर्वाचनमा पटक, पटक सम्पुर्ण राजनितक दल एकातिर हुँदा पनि स्वतन्त्र उमेदवारका रुपमा उनले निर्वाचन जित्दै आएका छन ।

यसरी चुनाव जित्ने पानी ‘बा’ २०६० सालदेखि आजसम्म अध्यक्ष पदमा रहँदै आएका छन ।

उमेरले डाँडो काटेका पानी ‘बा’ को जोस जागँर भने तन्नेरिको भन्दा कम छैन। करिब १९ बर्ष खानेपानीको अध्यक्ष पद सम्हालेका डिसी, मर्दा मलामी कमाउँनु जीवनको ठुलो सपना भएको बताउँछन ।

१९ बर्षको अबधिमा सर्वसाधारणले सहजै पानी पिउन पाएकोमा म खुशी छु- उनले भने। घोराहीका करिव ८० हजार सर्वसाधारणलाई दैनिक ४० लाख लिटर खानेपानी बितरण गर्नुपर्छ ।

संस्थाबाट अहिलेसम्म कुनै पदाधिकारी वा सदस्यले एक रुपैयाँ सुविधा नलिएका बरु आफ्नो तर्फबाट तीन करोडको योगदान गरेको पानी ‘बा’ दावी गर्छन । संस्थाले प्रत्येक बर्ष ४ करोड रुपैयाँ खानेपानी बापतको महशुल उठाउँदै आएको छ । यो रकम खानेपानीको नयाँ आयोजनामा खर्च हुदै आएको उनको छ ।

पानी ‘बा’ ले काकाकुल बनेका घोराहीका सर्वसाधारणको प्यास मेटाउँदा आफुहरु खुशी भएको स्थानीय युवराज आचार्यको भनाइ छ । धारा बिग्रिएर पानी नआए उनलाई खबर गरेको एक घण्टा भित्रमै धारा बनाई पानी घर घरमा आउँने हुँदा हामी झन खुशी छौ -आचार्यले थपे ।
त्यसो त घोराहीमा खानेपानीको अभाव हुन नदिन यसबर्षदेखि ६५ करोडको लागतमा बबई नदीदेखि घोराहीसम्म लिप्ट मार्फत खानेपानी पुर्‍याउने काम सुरु भएको छ । यो आयोजना पूरा भए अबको ५० बर्षसम्म सर्वसाधारणले ढुक्कसँग पानी पिउन स्थानीयको भनाइ छ ।