५ जेष्ठ २०८१, शनिबार
Follow Us

पाल्पामा निरन्तरको झरीले राजमार्ग अवरुद्ध

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७९, शुक्रबार ०४:०७

पाल्पा । पाल्पाका विभिन्न स्थानमा पहिरो खस्दा मुख्य राजमार्गसहित सहायक मार्गहरू अवरुद्ध बनेका छन् ।

सिद्धार्थ राजमार्गको दोभान, हिउँदेखोला, चर्चरेलगायतका स्थानमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि राजमार्ग अवरुद्ध बनेको छ । अबरुद्ध राजमार्ग खुलाउन दुई वटा लोडर प्रयोग भइरहेको प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्गमा पहिरो खस्दा बिहान ७ बजेदेखि सडक अबरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ ।

यस्तै रामपुर आर्यभाङ्ज्याङ् सडकखण्ड, बाँसटारी झडेवगा सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले बिहीबार साँझदेखि नै सडक अबरुद्ध छ । यस्तै ग्रामीण क्षेत्रमा जाने सडक समेत पहिरोका कारण अबरुद्ध बनेको प्रहरीले जनाएको छ । मुख्य राजमार्ग तत्कालै खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

सडक अबरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । कतिपय स्थानमा यात्रु हिडेर गन्तव्यमा जान बाध्य छन् ।

पहिरोले घर च्याप्दा दुई जना घाइते
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामस्थित चिदीसका नीरबहादुर सारुको घरलाई पहिरोले च्याप्दा एक बच्चासहित दुई जना घाइते भएका छन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सारुको घरलाई माथिबाट आएको लेदोसहितको पहिरोले च्याप्दा घरमा सुतिरहेका डेढ वर्षको बच्चासहित २१ वर्षकी छोरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा डेढ वर्षकी अरुषी खासु र २१ वर्षकी विष्णुमाया सारु रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटना शुक्रबार बिहान साढे ३ बजेतिर भएको प्रहरीले जनाएको छ ।