१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

मायाको हत्यामा संलग्न आरोपमा सशस्त्रका जवान पक्राउ

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७९, आईतवार ०५:१६

काठमाडौँ । बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतराम कोली छन् । आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको यही मंसिर १४ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको थियो । उनलाई पक्राउ गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानमाथि आशंका बढेको हो । माया र नेहा गएको मंगलबार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ पुगेको खुल्न आएको प्रहरी अधिकारी बताउँछन् ।

माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । माया र आरोपित सशस्त्र जवानबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको आशंका छ ।