२४ बैशाख २०८१, सोमबार
Follow Us

पत्रकारले नै विवाद गर्ने हो भने अरुले के भन्छन् ?

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार १६:१७

सीता पोखरेल, उपाध्यक्षको प्रत्यासी, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा वर्तमान कोषाध्यक्ष सीता पोखरेलले उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेकी छन् । तर विवादका कारण शाखाको अधिवेशन हुन सकेको छैन । अधिवेशन हुन नसक्नुको कारण, कोषाध्यक्ष हुँदा उनले गरेको काम र उपाध्यक्ष भएपछि उनले गर्ने कामबारे नेपाल ब्रिटेन डट कमको जिज्ञासामा उनको जवाफ यस्तो थियो–

० तोकिएको समयमा किन अधिवेशन भएन नि ?
– चैत्र १ गतेका लागि उपत्यकाका ३ वटै जिल्लामा अधिवेशन मिति तोकिएको थियो । तर काठमाडौं र ललितपुरमा सदस्यता स्थानन्तरण र नयाँ सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन । र, अधिवेशनको अर्को मितिसमेत तय हुन सकेको छैन । तर, यस सम्बन्धमा कार्यसमितिमा देखिएको विवाद मिलाउनेतर्फ म प्रयासरत छु ।

० के हो स्थानान्तरण र नयाँ सदस्य विवाद ?
– अन्य सञ्चारगृहका साथीहरु अनुमति लिएर काठमाडौंमा आउने प्रकृयालाई स्थानतरण भनिन्छ । तर काठमाडौंमा शाखामा स्थानरण हुने साथीहरु सम्बन्धित संस्थाको अनुमति नलिइ तथा काठमाडौं शाखाका पदाधिकारीलाई जानकारी नगराई केन्द्रको सिफारिसमा सदस्य बनाउन खोजेपछि विवाद उत्पन्न भएको हो । विधानतः यस्तो प्रकृया साधारणसभाभन्दा ६ महिना अगाडि नै सम्पन्न गर्नुपर्ने हो । तर त्यसो नभएपछि विवाद चुलिएको हो ।
नयाँ सदस्यताका लागि ५ सय ५२ जनाले सदस्यता फर्म भर्नु भएको थियो । नयाँ सदस्यको हकमा काठमाडौं शाखाको सचिव रामकृष्ण अधिकारीज्यूको संयोजकत्वमा कार्यदल बनेको थियो । उक्त कार्यदलले २ सय ७२ जना प्रकृया पूरा भएको, २ सय ३१ जना र ६० जना अनलाइन पत्रकारको कागजपत्र अपुग भएको निष्कर्ष निकाल्यो । त्यसपछि उक्त कार्यदलले अध्यक्ष गोविन्द चौलागाईलाई नयाँ सदस्यताको अन्तिम निर्णय गरी केन्द्रमा सिफारिस पठाउने अधिकार दिएको थियो ।
तर, अध्यक्षज्यूले जारी गर्नुभएको विज्ञप्तिलाई आधार मान्नु हो भने प्रकृया पूरा भएका भनिएका फाइल मध्येबाट ३३ जना गैरपेशाकर्मी भएको उजुरी परेको रहेछ । इन्जिनियर, विशेष प्रहरीका कर्मचारी, राजनीतिक दलका जिल्ला नेता, बैंकर्स, औषधि, सिमेन्ट व्यापारी, विद्यार्थी नेताले सदस्यता लिन खोजेको पाइयो ।
यता प्रकृया पूरा नभएको भनिएका फाइलमा चाहिँ जेनियुन साथीहरु पर्नु भएको रहेछ । जो व्यवसायीक पत्रकारितामा संलग्न हुनुहुन्छ । उहाँहरु हाम्रै साथीभाइ सर्कलका हुनुहुन्छ । उहाँहरुलाई छुटाएर प्रकृया पुगेको भनिएकाहरुलाई सदस्यता वितरण गर्दा काठमाडौं शाखाको गरिमामा आँच आउने भएकाले विवाद सुरु भएको हो ।

० कार्यदलमा तपाईं पनि हुनुहुन्थ्यो होइन ?
– हो, कार्यदलमा थिएँ, तर स्वास्थ्यले साथ नदिदाँ र डाक्टरको सल्लाह बमोजिम बेड रेस्टमा हुँदो फारम भर्न आउनेहरुको अवस्था पहिचान गर्न मैले सकिन, त्यो मेरो कमजोरी भयो । अर्को कुरो मैले फाईल हेर्दा नै यस्लाई अन्तिम रुप दिन सात जनाको कार्यदललाई अनुरोध पनि गरे । तर, हामीले पूर्ण र अपूर्ण फाईलमात्रै छुट्याउने बाकि सदस्यता फाईनल गरेर केन्द्र पठाउने जिम्मा अध्यक्षको हो भनेर जवाफ पाएकी थिए । तर, परिणाममा त्यो हुन नसक्दा दुःख लागिरहेको छ ।

० सञ्चारगृहले दक्ष्य जनशक्ति पाउँदैन, तर काठमाडौं शाखामा त्यत्ति धेरै सदस्य बन्न आउँदा रहेछन् ?
– म पनि सदस्य हुँदै, कोषाध्यक्षको पद सम्हालिसके, यसको रहस्य मैले पनि पत्ता लगाउन सकेकी छैन । हामीले शुद्धिकरण अभियान नथालेको होइन, तर केही विवादित व्यक्तिको सदस्यता खारेज गर्न खोज्दा दबाब झेल्न सकिएन ।

० के अब यसैलाई निरन्तरता दिने ?
– यो कुनै एक व्यक्ति वा काठमाडौं शाखाको मात्र नियन्त्रणमा छैन । यस्ता कुरालाई हामीले नियन्त्रण गर्न नसकेकाले नै पत्रकारका नाममा हुने अनेकन विकृति सुन्न पाइँछ, यो लाजमर्दो कुरो हो । पेशाको नाममा राजनीति गर्नुअघि प्रत्येकले आफूलाई अब आत्मसमीक्षा गर्न ढिलो गर्नु हुँदैन । नियन्त्रणको यो मात्रै एउटा उपाय हो ।

० कार्यालयमा ताला कसले लगायो ?
– अधिवेशनको सम्मुखमा शाखालाई जानकारी नदिइ माघ १५ यता स्थान्तरण गरिएका सदस्यहरुको सदस्यता रोकिनुपर्ने, अधिवेशन अघि नै सचिवको नेतृत्वमा बनेको कार्यदलले प्रकृया पुगेको भनिएका सदस्यलाई सदस्यता वितरण गर्नुपर्ने माग राखेर कार्यालयमा तालाबन्दी गरिएको हो । ताला खोल्न र निर्वाचनको मिति घोषणा गर्नेसम्बन्धमा असन्तुष्ट पक्षसँग वार्ता गरेर समस्या समाधानगर्नेतर्फ गम्भीर छु ।

० तालाबन्दी लगाउनेको नाम तोक्न मिल्दैन ?
– तालाबन्दीमा पाँचवटा संगठन छन् । त्यसमध्ये पे्रस चौतारी, पे्रस युनियन, पे्रस सोसाइटी, क्रान्तिकारी पत्रकार संघ, मिडिया नेपाललगायतका छन् ।

० ताला नलगाउनेमा पे्रस सेन्टर मात्र बाँकी रह्यो नि ?
– तत्काल त्यस्तै मात्र देखिएको छ ।

० सधैं ताला लगाइराख्ने ?
– कार्यालय बन्द गरेर समस्या समाधान निस्कदैन । वार्ता र संवादबाट समस्याको हल खोज्नुपर्छ । नेपाल पत्रकार महासंघको महत्वपूर्ण शाखा काठमाडौं भएकाले यो शाखामा धेरैको इन्ट्रेस हुनसक्छ, त्यसैले यो विवादलाई बल्झाउनु भन्दा सल्टाउनु बुद्धिमानी हुन्छ । पत्रकारहरुको संस्था हो, अरुलाई औंला ठ्डाउने वातावरण बन्न दिनु हुँदैन । चुनाव जित्ने एकसूत्रीय अभियान भन्दा व्यवसायिकतालाई ध्यान दिएर समाधानको बाटो खोज्नुपर्छ ।

० कुन पदमा उम्मेदवार दिँदै हुनुहुन्छ ?
– उपाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको छु । यसअघि पनि कार्यसमितिमा सदस्य हुँदै कोषाध्यक्ष भएको हुँ, त्यसैले उपाध्यक्ष मेरो उम्मेवारी स्वभाविक लाग्छ ।

० कोषाध्यक्ष भएर के गर्नुभयो ?
– मैले के गरे भनेर आफ्नो फेहरिस्ता बताउनु भन्दा पनि अरुले मूल्यांकन गर्नु हो । तर मेरो अनुभवमा कोषाध्यक्ष एक्लैले मात्र केही गर्न सकिँदो रहेनछ । शाखालाई आर्थिक रुपमा पारदर्शी बनाउने, हिसाबकिताब चुस्त दुरुस्त राख्नका लागि सदस्य तथा पदाधिकारी सबैको सहयोग भए मात्र सम्भव हुने रहेछ । त्यत्ति हुँदा हुँदै पनि शाखालाई बैंकिङ प्रणालीमा लगियो, सदस्यता शुल्कलगायत अन्य आय व्यय पारदर्शी राख्ने प्रयास गरें ।

० वर्षौदेखि कार्यालयको भाडा नै तिरेको छैन भन्छन् नि ?
– भाडासम्बन्धी विवाद हामीभन्दा दुई कार्यकाल अघिदेखिको हो । यो विवाद मिलाउने प्रयास भइरहेको मैले बुझेको छ्ु । त्यसभन्दा बढी यस विषयमा मलाई जानकारी भएन ।

० उपाध्यक्षमा जित्नु हुन्छ ?
– उपाध्यक्ष जित्नुभन्दा पनि पदाधिकारी भएको नाताले अधिवेशन कसरी सम्पन्न गर्ने चुनौति हामीमाँझ छ । अधिवेशन तयारीका क्रममा कस्तो महोल बन्छ, अहिले भन्न सकिन्न । तर, साथीहरुले मेरो आवश्यकता महसुस गर्नुभयो भने मलाई उपाध्यक्षमा निर्वाचित गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

० जित्नुभो भने के गर्नुहुन्छ ?
– काठमाडौं शाखाको समस्या पहिचान मैले गरिसकेको छु । ती समस्या सम्बोधन गर्ने प्रयास गर्छु । सबैले देखेकै कुरो हो, काठमाडौं शाखाको कार्यालय दया लाग्दो छ । कोषाध्यक्ष भएर जाँदा कार्यालय प्रवेश गर्दा नै टिठ लाग्यो, रंगरोगन गरे, बस्ने हुनेसम्म भएको थियो । अहिले त्यही ३ वर्ष अघिको जस्तो भएको छ । अब काठमाडौं शाखालाई गरिमामय बनाउनु पर्छ । धेरै गर्न सकिन्छ त्यसका लागि दृढ इच्छाशक्ति मसँग छ । आस्था र विचारभन्दा व्यवसायिकतालाई केन्द्रविन्दु बनाएर योजना अघि बढाउनु पर्छ । सदस्यता वितरण पारदर्शी, व्यवस्थित कार्यालय, आर्थिक सवलीकरणमा मेरो योजना केन्द्रित हुनेछ ।