६ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपुलविरुद्ध रियल म्याडिड्रको ५ गोल

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७९, बुधबार ०५:४५

लन्डन । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार  ५–२ को जित दर्ता गरेको छ । रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५–२ को सानदार जित दर्ता गरेको हो ।

एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।

खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । १४औं मिनेटमा फेरी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर पारे ।

तर, कप्तान करिम बेन्जेमाको पासमा गोल २१औं मिनेटमा भिनिसियसले गोल गरे भने पहिलो हाफको ३६औं मिनेटमा रियलका भिनिसियसले  २–२ गोलको बराबरीमा ल्याए ।  ४७औं मिनेटमा  मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाए । ६७औं मिनेटमा कप्तान बेन्जेमाले पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए ।

यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।

फ्रान्कफर्ट नापोलीसँग पराजित
यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब फ्रान्कफर्ट इटालियन क्लब नापोलीसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा फ्रान्कफर्ट नापोलीसँग २–० ले पराजित भएको हो ।

खेलको ४० औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६५ औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई २–० ले जित दिलाए । खेलको ५८ औं मिनेटमा राण्डल कोलोले रातो कार्ड पाएपछि फ्रान्कफर्ट १० खेलाडीमा समेटिएको थियो । अब दुई टोलीबीचको दोस्रो लेग नापोलीको मैदानमा मार्च १६ मा हुनेछ ।