१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती राजाको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०८०, शुक्रबार २१:५१

लन्डन । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने भएका छन् ।

स्वास्थ अवस्थाका कारण राष्ट्रपति रामचन्द्र पौडेल नआउने भए पछि सो समारोहमा मन्त्री साउद उपस्थित हुने नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए । गुरुङका अनुसार मन्त्री साउद मे ४ तारिख लण्डन उत्रिने तयारीमा छन् ।

यसअघि राष्ट्रपति पौडेल आगामी मे ६ तारिख यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन आउने तयारी थियो ।
यसअघि लण्डनस्थित नेपाली दूतावास स्रोतले राष्ट्रपतिज्यूको सट्टा परराष्ट्रमन्त्री आउने सम्भावना रहेको जानकारी दिएको थियो ।

वकिङघम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झण्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवा सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ ।

यसैबीच मन्त्री साउदलाई मे ६ र ७ तारिख हुने गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनमा समेत सहभागी हुन आग्रह गरिएको छ। एनआरएनए स्रोतका अनुसार उनले सम्मेलनको अन्तिम दिन ७ तारिख आइतवार चेक रिपब्लिकको कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् ।

यसअघि सन् २००३ मा तत्कालिन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा स्वर्गीय राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए ।