१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘स्वीट् सिक्सटिन’ मा नेपालब्रिटेन डट कम

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८०, सोमबार ०७:२०

उमेरका हिसाबले ‘स्वीट् सिक्सटिन’ अर्थात् बाल्यकालको अन्त्य र किशोरावस्थाको प्रवेश आफैंमा एउटा उमंग हो । ल्याटिन भाषाको ‘एडोल्सकेयर’ शब्दबाट अंग्रेजी भाषामा ‘एडोलेसेन्स’ शब्द आएको हो । जसको नेपाली अर्थ हुन्छ, परिपक्क हुनु । अब बाल्यावस्थाबाट युवातिर लम्कने हो । बाल्यावस्था र यौवन बीचको यो अवस्था हो । यो अवस्थामा शारीरिक, मानसिक, संवेगात्मक तीब्र परिवर्तनको अवस्था हो । त्यसैले यो अवस्थालाई ‘टिनएज’ पनि भनिन्छ । हामी पनि यही उमेरमा प्रवेश गरेका छौं ।

अभावको जीवनमा बालबालिका हुर्काउन निक्कै कठिन हुँदो रहेछ । त्यसको पीडा अभिभावकलाई मात्र थाहा हुन्छ । स्वभावैले बालबालिकाको मन लोभी हुन्छ, त्यसको फाइदा उठाउन खोज्नेहरु यत्रतत्र भेटिदा रहेछन् । माया देखाएर घाँटी निमोठ्न खोज्नेहरु समाजमा धेरै हुँदा रहेछन्, हाम्रो हकमा यस्ता प्रयास नभएका होइनन्, निक्कै दुख कष्ट गरेर नेपालब्रिटेन डट कमलाई किशोरावस्थामा ल्याएका छौं, अहिले सगौरव घोषणा गर्दछौं, ‘बाल्यावस्था पूरा गरेर किशोर अवस्थामा प्रवेश गरेका छौं ।’

प्रवासको ज्योति बनाउने उद्देश्य लिएर हामीले नेपालब्रिटेन डटकमलाई जन्म दिएका हौं । सूचना प्रविधिको विकाससँगै प्रवासमा रहेका नेपालीको सुख दुखको खबर संसारभरिका नेपालीमाँझ पु¥याउने उद्देश्य थियो । यही उद्देश्य बोकेर प्रजातन्त्रको जननी मानिने बेलायतको पवित्र भूमिमा नेपालब्रिटेन डटकमलाई जन्म दिएका थियौं ।

तीता–मीठा अनुभव हुन्छन, तब न जीवन बन्छ । जानेर वा नजानी धेरै गल्ती भए होलान् त्यसलाई हामी स्मृतिको एउटा कुनामा थन्काउन चाहन्छौं । किशोरावस्था प्रवेशसँगै तीतो बिर्सेर मीठा कुराको अनुभवबाट हाम्रो अविछिन्न यात्रामा अगाडि बढ्छौं । यो यात्रा चुनौतिको पहाड हो भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ, तर लक्ष्य चुम्न हामी डगमगाउँदैनौं । हामीलाई हौसला दिनु हुने अग्रजलाई नमन गर्दै यो यात्रामा साथ र सहयोग दिनुहुने पाठक, विज्ञापनदाता र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।