८ बैशाख २०८१, शनिबार
Follow Us

एनबीसी यूके ‘उत्कृष्ट च्यारिटी संस्था’ को रुपमा सम्मानित

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८०, सोमबार २३:०७

लण्डन। नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) उत्कृष्ट च्यारिटी संस्थाको रुपमा सम्मानित भएको छ ।
बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकम, को १६ औं वार्षिकोत्सव भव्य समारोहबीच सो एनबीसी यूकेलाई ‘उत्कृष्ट च्यारिटी संस्था’ को रुपमा सम्मान गरिएको हो ।

आइतबार स्टानवेल भिलेज हलमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत, ज्ञानचन्द्र आचार्यले संस्थाका अध्यक्ष राज ओझा र   महासचिव रविन्द्र अधिकारी  लगायत संस्थाका सदस्यहरुलाई सो अवार्डको प्रमाणपत्र प्रदान गरिएको हो ।
सन् २०१० मार्च ६ मा स्थापना भएर सन् २०१६ मा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको एनबीसी यूकेले विभिन्न कार्यहरु गरेको संस्थाका एक ट्रस्टी समिरनाथ प्याकुरेल बताउछन।संस्थाले चितवनको कान्दास्थित चेपाङ बालबालिकालाई अध्ययन र बासका लागि भवन निर्माण, सर्लाहीमा द्धन्द्ध पीडित बालबालिकाका लागि भवन निर्माण सहयोग, दाङमा दृष्टिविहीन विद्यार्थीका लागि पाठ्यपुस्तक तथा खानपान व्यवस्थापनमा सहयोग, लमजुङका विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक र जाडोमा लगाउने न्यानो कपडा वितरण, महाभूकम्प पीडितलाई सहयोग, सप्तरीका बाढी पीडितलाई राहत, बेलायतमा बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन, कोभिड १९ का बेला ज्येष्ठ नागरिकका लागि सचेतनामूलक कार्यक्रमसहित ट्याब्लेट वितरण, लाइन्स क्लव अफ दियालो नारायणगढमार्फत ७८३ बिरामीको आंखा उपचारमा सहयोग, पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिकालाई सहयोग जस्ता कयौं च्यारिटी काम गरिसकेको छ।

गत अप्रिलमा हांस्य कलाकार सुमन कार्की, गायिका एलिना चौहान र मोडल तथा नृत्यांगना अन्जली अधिकारीलाई बेलायत ल्याएर संस्थाले च्यारिटी कार्यक्रम गरेर चर्चा कमाएको थियो ।