८ बैशाख २०८१, शनिबार
Follow Us

पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा (सूचीसहित)

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०८०, बुधबार ०४:५६

काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न दुई दर्जन कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेकामा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत छन् ।

मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षसम्म कालोसूचीमा राखिएको छ ।

यसैगरी सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा परेका छन् । पप्पुरकोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखपरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

यसैगरी पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई १ वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएको छ ।

कालोसूचीका परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनैपनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।