लन्डन । आयरल्याण्डका लागि समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राजदूत आचार्यले बिहीबार विशेष समारोहबीच राष्ट्रपति माइकल डी हिगिन्स्समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका दूतावासले जनाएको छ ।
डब्लिनस्थित राष्ट्रपति कार्यालयमा ओहोदाको प्रमाणपत्र ग्रहणपश्चात राष्ट्रपति हिगिन्स्ले राजदूत आचार्यलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए ।
राष्ट्रपति हिगिन्स्ले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास समेत प्रकट गरे ।
समारोहमा राजदूत आचार्यले राष्ट्रपतिको सुस्वास्थ्य र आयरल्याण्डका जनताको उत्तरोत्तर प्रगतिका लागि नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश सुनाएका थिए ।
राष्ट्रपति हिगिन्स्ले पनि नेपालको शान्ति तथा राष्ट्रपति र नेपाली जनताको उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्य र सम्बृद्धिको कामना गरेका थिए ।