२२ बैशाख २०८१, शनिबार
Follow Us

‘ए स्टार नेप्लिज बास्केटबल लिग’ २०२३ को उपाधि डीबीएसलाई

नेपालब्रिटेन संवाददाता
४ असार २०८०, सोमबार २०:५०

लण्डन । बेलायतको अक्स्ब्रिजस्थित ब्रुनेल विश्वविद्यालयको स्पोर्टस हलमा शनिबार सम्पन्न दोस्रो ‘ए स्टार नेप्लिज बास्केटबल लिग’ २०२३ को उपाधि डीबीएसले हात पारेको छ । फाइनल खेलमा डीबीएसले साउथ आसफोर्ड वुल्फ्सलाई ५६–५३ ले पराजित गर्दै उपाधि जितेको हो ।

गत वर्षबाट बेलायतवासी नेपालीहरूद्वारा बास्केटबल लिग प्रतियोगिता सुरुवात गरिएको थियो । गत मार्चदेखि सुरु गरिएको यसपटकको लिगमा फेल्थम, मेडिस्टोन, हेज एण्ड हार्लिङटन र अक्सब्रीजमा खेलिएको लिगमा ११ टिम डीबीएस, इष्ट ग्रीजलिज, स्यान्डहर्स्ट निक्स, ग्रीनफोर्ड नाइट्स, साउथ आसफोर्ड वुल्फ्स, हिमालयन हिट, कोलचेष्टर एलिट, बलर्स स्लामर्स, वाटरमेलन स्न्याचर्स, मेडस्टोन टाइटन्स र प्लमस्टिड ज्यागुअर्सले प्रतिस्पर्धा गरेका थिए ।

फाइनल खेल हेर्न तीन सय भन्दा बढी स्वदेशी तथा विदेशीहरूको उपस्थिति थियो । हिलिङडन मेयर शेहर्यार अहमद वालाना, हन्स्लो काउन्सिलर विष्णु गुरुङ, कीर्तिमानी पर्वतारोही हरि बुढामगर सपरिवार उपस्थित सहभागी भएका थिए ।

फ्रेण्डली म्याचमा महिलातर्फ स्थानीय टावर ह्याम्लेट्स ट्रोजन्सले ‘म खेल्छु’ टिमलाई २७-४३ ले पराजित गरेको थियो । यसैगरी भेट्रान पुरुषबीच ट्याप ट्याप सेन्डले नेपलिज सेन्टर हेजलाई ५१–३७ ले हराएको थियो । यस सिजनको थ्री प्वाइन्ट लिडर अवार्ड कोलचेष्टर एलिटका विनय लिम्बुले पाए भने स्कोरिङ लिडर (रेगुलर सिजन) अवार्ड कोलचेष्टर एलिटकै रवि राईले पाए ।

रुकी अफ द इयर मेडिस्टोन टाइटान्सका विश्वास राना र योङ प्लेयर अफ द इयर साउथ आसफोर्ड वुल्फ्सका रोशन थकालीले प्राप्त गरे । डिफेन्सिभ प्लेयर अफ द इयर वाटरमेलन स्न्याचर्सका रोशन गुरुङ र कोच अफ द इयर उपाधि पनि वाटरमेलन स्न्याचर्सकै सुजन गुरुङले हात पारे ।

रेगुलर सिजन मोष्ट भ्यालुएवल प्लेयर ग्रीनफोर्ड नाइट्सका विवेक थापा, फाइनल्सका मोष्ट भ्यालुएवल प्लेयरको अवार्ड डीबीएसका आशिष बस्नेतले पाए । उक्त लिगको गोल्ड स्पोन्सरहरुमा ट्याप ट्याप सेन्ड र नेपलिज सेन्टर हेज रहेका थिए । अन्य स्पोन्सरहरुमा केन्ट बलर, बल ड्रिभन, गोर्खा कन्स्ट्रक्सन थिए ।