२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको अध्यक्षका प्रत्यासीहरु सहमतिको पक्षमा (भिडियो)

नेपालब्रिटेन संवाददाता
१० असार २०८०, आईतवार २१:०२

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको जुलाई महिनामा हुने निर्वाचनमा आकांक्षी देखिएका उम्मेदवारहरु नेतृत्व सहमतिमा चयन गर्ने पक्षमा उभिएका छन् ।
‘नेपालब्रिटेन डट कम लाइभ’ कार्यक्रममा बोल्ने ती वक्ताहरुले सहमतिमा जान आफुहरु तयार रहेको बताए ।

अध्यक्ष आकांक्षी तथा तमुधींका पूर्वअध्यक्ष हितकाजी गुरुङले विघटनको अवस्थामा रहेको संस्थामा निर्वाचन गर्दा थप जटिल हुने भन्दै सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरे । उनले अन्य उम्मेदवारहरुसंग सहकार्य गरेरअघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी दिनेश घिमिरेले संस्थालाई थप फराकिलो पारेर अघि बढ्न सकिने तर्क गरे । उनले संस्थाका आन्तरिक समस्यालाई भित्रै राखेर समाजको एकताको लागि अघि बढ्न सकिने बताए ।

कार्यक्रममा इंल्याण्ड परिषदका अध्यक्ष एलबीजेड गुरुङले संस्थालाई योगदान गरेकाहरुबीच पालैपाले जिम्मेवारी लिएर जान सकिने बताए ।
कार्यक्रममा अर्का प्रत्यासी हेन्सन गौचनले एनआरएनएमा निर्वाचन प्रकृया गलत भएको हुंदा हार्नेले जहिले पनि समाज भड्काउने काम गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले अजेण्डा मिल्लेहरुसंग मिलेर जान सकिने बताए ।

कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष डा. नारायण कंडेलले गैरआवासीय नेपाली संघको आगामी अभियानका वारेमा आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा बरिष्ठपत्रकार भगिरथ योगीले गैरआवासीय नेपाली संघको विवाद मिलाउन हालै बालुवाटारमा गरिएको सहमति सकरात्मक भएको बताए। उनले बालुवाटार सहमति राष्ट्रिय स्तरमा भने अनभूति नभैसकेको भन्दै विचार व्यक्त गरे ।