२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए केन्द्रीय नेताहरु कतारमा उत्रिए, दुई दर्जन पत्रकार मध्यपूर्वमा

नेपालब्रिटेन संवाददाता
११ असार २०८०, सोमबार २०:०६

दोहा । बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा भाग लिन दुई दर्जन पत्रकार सहित संघका केन्द्रीय नेताहरु मध्यपूर्वमा उत्रिका छन् ।

सो सम्मेलनमा भाग लिन संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरु महेश श्रेष्ठ, रोशन थापा, धर्मराज अधिकारी सोमवार कतार उत्रिएका छन् ।

होलिडे मस्कट होटलमा हुने तय भएको सम्मेलनको तयारी पूरा भएको एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खालीले बताए । उनले यो सम्मेलनलाई उत्कृष्ट र अर्थपूर्ण बनाउन लागिपरेको पनि बताए ।

सम्मेलनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्कासहित श्रम मन्त्री शरतसिंह भण्डारी, सरकारी अधिकारी, विश्वभरका एनआरएनए अभियन्ता, नेपालका विभिन्न सञ्चार माध्यममा संलग्न दुई दर्जन संचारकर्मीहरु सो सम्मेलनमा सहभागिता रहनेछ । उपप्रधानमन्त्री खड्काका सहित १ दर्जन नेता तथा पत्रकार मंगलवार सांझ ओमान पुग्दैछन् ।

सम्मेलनमा मध्यपूर्वका श्रमिक गैरआवासीय नेपालीहरुले लामो समयदेखि प्रतिक्षा गरेको सामाजिक सुरक्षा कोष नेपाल सरकारले हालैमा कार्यन्वयनमा ल्याएको अवस्थामा यसलाई थप प्रभावकारी बनाएर अघि बढ्नेबारेमा छलफल हुनेछ । यस कोष मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुमा आर्थिक एवं सामाजिक सुरक्षाको प्रत्याभूति हुने स्पष्ट रहेको एनआरएनए उपाध्यक्ष आरके शर्माले जानकारी दिए ।

सम्मेलनका क्रममा एनआरएनए अभियन्ता र सरोकारवालाबीच अन्तरक्रिया र प्यानल डिस्कसन हुनेछ । यस्तै, सुरक्षित आप्रवासन नीति र अभ्यास प्रवद्र्धन, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र प्रबद्र्धन, आर्थिक लगानीको वातावरण, अवसर र रेमिट्यान्सको सदुपयोग, बैदेशिक रोजगारीमा रहेकाहरुलाई मतदान अधिकारको प्रत्याभूति जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ ।

यस्तै पर्यटन आदानप्रदान कार्यक्रमको प्रवद्र्धन, गैर आवासीय नेपालीहरुको सामुदायिक संलग्नता र सामाजिक एकीकरण, मध्यपूर्वमा एनआरएनए अभियानको विकास एवं प्रवद्र्धन जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ।

सम्मेलनका एजेण्डाहरुबाट अधिकतम परिणाम निकाल्नका निम्ति उचित छलफल र सवै अभियन्ताहरुको सक्रिय सहभागिता अति आवश्यक रहेको एनआरएनएले जनाएको छ ।

सम्मेलनलाई ऐतिहासिक रुपमा सफल पार्न एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएनए आईसीसी उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए ओमानका अध्यक्ष बिकल झालगायत ओमानबासी नेपाली र मध्यपूर्वमा रहेका एनआरएनए अभियन्ताहरु सक्रिय रहेका छन् ।