२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अमेरिकामा फेसियल भेरिफिकेसन छलेर फर्जी मतदातालाई मताधिकार दिने तयारी

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार १८:२३

लण्डन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) अमेरिकामा फेसियल भेरिफिकेशन छलेर निर्वाचन गर्न खोजे पछि विवाद शुरु भएको छ ।

अध्यक्ष पदका प्रत्याशी डा. अर्जुन बञ्जाडेले कुनै पनि बहानामा सदस्यहरुको चाहना र अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसि) को निति एवं निर्देशन विपरित, फेसियल भेरिफिकेशन बिनाको निर्वाचन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन्।

डा. बञ्जाडेले शुक्रबार अपरान्ह जुम मार्फत गरेको पत्रकार सम्मेलनमा निर्वाचनको मिति नजिकिसक्दा पनि निर्वाचन समितिले फेसियल रिडिङ प्रविधिमार्फत निर्वाचन गर्नका लागि आवश्यक तयारीमा नलागेको र बिभिन्न बहानाबाजी गरेर पुरानै तरिकाले निर्वाचन गर्नतिर लागेको आशंका व्यक्त गरे ।
पत्रकार सम्मेलनमा उनले ‘आफ्नो भोट आफै हालौं, आफ्नो संस्था आफै बनाऔं ‘ भन्ने आव्हानसहित प्रेस वक्तव्य जारी गर्दै यस्तो खबरदारी गरेका हुन्। संस्थाले अवलम्बन गर्दै आएको निर्वाचन प्रणालीमा पारदर्शिता र विश्वसनीयता नभएको ठहर गर्दै अन्तराष्ट्रिय समन्वय परिषद्ले सदस्यता वितरणमा एमआइएस प्रणाली लागू गरेको र निर्वाचन पनि सोही मुताबिक गर्न निर्देशन दिएको कुरा जारी प्रेस वक्तव्य मार्फत स्मरण गराउदै उनले भनेका छन्,’ एनआरएनएप्रति सर्वसाधारणको विश्वसनीयता बढाउन अन्तराष्ट्रिय समन्वय परिषद्ले एमआइएस सिस्टम मार्फत फेसियल भेरिफिकेशन प्रविधिद्वारा सदस्यता वितरण गरेको कुरा यहाँहरुलाई अवगत नै छ। एनआरएनए आइसिसिले निर्वाचन प्रक्रिया मार्फत निष्पक्ष एवं कुशल नेतृत्व चयन गर्न फेस भेरिफिकेशन प्रिविधिको प्रयोग गर्नु पर्ने भनेर निर्णय गरी पत्राचार समेत गरिसकेको छ, जुन स्वागतयोग्य छ।’

जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ‘आइसिसिको निति, नियम तथा निर्देशन पालना गर्नु एनसिसिको कर्तव्य हुन जान्छ। तसर्थ, कुनै पनि बहानामा आइसिसिको निति एवं निर्देशन विपरितको फेसियल भेरिफिकेशन बिनाको निर्वाचन हामीलाई स्वीकर्य हुने छैन।’

निर्धारित समय भित्र नै फेसियल भेरिफिकेशनसहित निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक प्रक्रिया आगाडि बढाउन प्रेस विज्ञप्ति मार्फत सम्बन्धित निकायहरुलाई अनुरोध समेत गरेका छन्। उनले यदि कथङ्कदाचित् समयमा निर्वाचन सम्पन्न हुन नसकी त्यसबाट उत्पन्न हुन सक्ने विषम परिस्थितिको जिम्मेवार, एनआरएनए, एनसिसि अमेरिकाको निर्वाचन समित र कार्यकारी समिति नै हुनु पर्ने चेतावनी दिएका छन्।

एनआरएनए, एनसिसि, अमेरिकाको नेतृत्व लिन यतिबेला डा. बन्जाडे र वर्तमान कार्यसमितिका उपाध्यक्ष डिलुराम पराजुली चुनावी मैदानमा खडा छन्। निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन यही आउदो जुलाई २२ र २३ तारिख (शनिवार र आइतवार) हुँदैछ।

प्रेस वक्तव्यको पूर्णपाठ

“अभियान- आफ्नो भोट आफै हालौँ, आफ्नो संस्था आफै बनाऔँ”

आदरणीय गैर आवासीय नेपाली आमा-बुवा, दाजु-भाइ तथा दिदी- बहिनीहरूमा नमस्कार,

आम गैर आवासीय नेपालीहरूको हक-हित तथा नेपालको समृद्धिमा सहयोग पुर्‍याउने पवित्र उद्देश्यका साथ स्थापित हाम्रो गौरवमय संस्था “गैर आवासीय नेपाली संघ” भित्र विभिन्न काल खण्डमा विभिन्न उतार चढावहरू आए। लगभग एक दशक यता गैर आवासीय नेपाली संघ, अमेरिकाको निर्वाचन प्रणालीमा पारदर्शिता र विश्वसनीयता भएन भनेर आम जनमानसमा ठूलो बहस एवं असन्तुष्टिका स्वरहरू सुनिने गरिएको कुरा सर्वविदितै छ। तसर्थ, आम गैर आवासीय नेपालीहरूको मागलाई ध्यानमा राखेर एनआरएनएप्रति सर्वसाधारणको विश्वसनीयता बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एमआईएस सिस्टम मार्फत् फेसियल भेरिफिकेशन प्रविधिद्वारा सदस्यता वितरण गरेको कुरा यहाँहरूलाई अबगत नै छ। एनआरएनए आइसिसीले निर्वाचन प्रक्रिया मार्फत निष्पक्ष एवं कुशल नेतृत्व चयन गर्न फेस भेरिफिकेशन प्रबिधिको प्रयोग गर्नु पर्ने भनेर निर्णय गरि पत्राचार समेत गरिसकेको छ, जुन स्वागतयोग्य छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको निर्वाचन तालिका प्रकाशित भइ निर्वाचनको मिति लगभग एक हप्ता बाँकी रहँदा समेत एनआरएनए आइसिसीले निर्धारण गरेको फेसियल भेरिफिकेशन सहितको निर्वाचन प्रक्रियालाई बेवास्ता गर्दै अनेक बहानामा पुरानै तरिकाबाट निर्वाचन गर्ने प्रक्रिया अगाडी बढाउने गरी निर्वाचन आयोगले सूचना प्रबाह गर्नु अत्यन्त दुःखद छ। निर्वाचन आयोगको यस किसिमको आशयको पत्रले जन मानसमा निर्वाचनको विश्वसनीयता प्रति एक किसिमको शंका उत्पन्न भएको छ।

संसारभरका एनसीसीहरू, आइसिसीको अभिन्न अङ्ग भएकोले आइसिसीको नीति, नियम तथा निर्देशन पालना गर्नु एनसीसीहरूको कर्तव्य हुन जान्छ। तसर्थ, कुनै पनि बहानामा आइसिसीको नीति एवं निर्देशन विपरीतको फेसियल भेरिफिकेशन बिनाको निर्वाचन हामीलाई स्वीकार्य हुने छैन। एनआरएनए, एनसीसी अमेरिकाको निर्वाचन आयोग लगायत सम्बन्धीत निकायमा यसै प्रेस विज्ञप्ति मार्फत् फेसियल भेरिफिकेशन सहितको निर्धारित समयमा नै (जुलाई महिन भित्र) सम्पन्न हुने गरि निर्वाचन प्रक्रिया अगाडी बढाउन अनुरोध गर्दछु।

यसका साथै, एनआरएनए एनसीसी र आईसीसीको विधानमा जुलाई महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने प्राबधान छ। कुनै पनि बहानामा निर्वाचन समयमै हुन नसकेको अवस्थामा संस्थामा नेतृत्व विहीन तरल अथवा शून्य अवस्थाको सृजना हुन जान्छ। यस विषयमा हामी अत्यन्त संवेदनशील छौँ। तसर्थ, यही पत्रकार सम्मेलन मार्फत् निर्वचन आयोग र एनआरएनए अमेरिकाको नेतृत्व वर्गमा समयमै फेसियल भेरिफिकेशन सहितको निर्वाचन गराउन जोडदार माग गर्दछु। यदी समयमा निर्वाचन सम्पन्न नभई त्यस्बाट उत्पन्न हुने बिषम परिस्थितिको जिम्मेवार NRNA NCC USA को निर्वाचन समिति र कार्यकारी समिति हुने छ ।

डा. अर्जुन बन्जाडे
अध्यक्ष पदका प्रत्याशी
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका
मिति: १४ जुलाई, २०२३