काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्प पछिको हिमपहिरोका कारण भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जानकारी दिएका छन ।
आजको प्रतिनिधिसभा बैठकमा भोटेकोशी र त्रिशुलीमा अचानक आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीयसहित अकल्पनीय क्षति गरे पछि सो बारेमा जानकारी दिने क्रममा उक्त सुचनाका बारेमा बताएका हुन ।
“८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको, भूकम्पले हिमपहिरो झरेको र त्यसकारणले बाढी आएको प्रारम्भिक सूचना आएका छन्,” उनले आजको बैठकमा भने। यो प्रारम्भिक सुचना मात्रै भएको र थप बुझ्ने क्रम जारी रहेको पनि जनाएका छन् ।
उनका अनुसार ८ः४० तिर रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका टिमुरे, स्याप्रुबेसी, बेत्रावती, त्रिशूली, बटार, देवीघाट लगायतका स्थानमा ब्यापक क्षति पुगेको जानकारी गराए ।
भोटेकोसी तथा त्रिशूली नदीको क्षेत्रमा जोखिम देखिएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको सुनाए ।