२१ असार २०८१, बिहीबार
Follow Us

लण्डनमा नेपाली मसला चियालाई ‘ग्रेट टेस्ट अवार्ड २०२३’

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८०, शुक्रबार ०२:१३

लण्डन । बेलायतमा आयोजना गरिएको खाना र पेय पदार्थहरूको एक विश्व प्रसिद्ध प्रतिस्पर्धामा नेपाली मसला चिया (चाय) ले ‘ग्रेट टेस्ट अवार्ड २०२३’ हात पार्न सफल भएको छ ।

खाना तथा पेय पदार्थको क्षेत्रमा विश्वमै लोकप्रिय ‘गिल्ड अफ फाइन फुड’ ले आयोजना गरेको प्रतिस्पर्धामा विश्वभरका १४ हजार भन्दा बढी खाना तथा पेय पदार्थहरूले सहभागिता जनाएका थिए ।

बेलायतमा स्थापित नेपाल फुड्सको उत्पादन नेपाली चायले ‘ग्रेट टेस्ट अवार्ड २०२३’ मा टु स्टार प्राप्त गरेको हो । प्रतिस्पर्धीहरुमध्ये चार हजार ८८ उत्पादनलाई ‘ग्रेट टेस्ट वान स्टार’, एक हजार ५ सय ६८ लाई ‘दुई स्टार ग्रेट टेस्ट ‘ र २ सय ४८ लाई ‘थ्री स्टार ग्रेट टेस्ट’ अवार्ड प्रदान गरिएको थियो ।

उक्त अवार्ड कार्यक्रममा नेपाली मसला चायलाई निर्णायकहरुले प्रशंसा गर्दै ‘हग इन मग’ को संज्ञा दिएका थिए । नेपालको पूर्वी भागमा उत्पादित अलैँची, अदुवा, कालो मरीच, दालचिनी जस्ता मसलासहितको सम्मिश्रणले बनेको नेपाली मसला चायलाई निर्णायक मण्डलले स्वादिष्ट र उत्कृष्ट मसलाहरूको सम्मिश्रण रहेको बताए ।

‘ग्रेट टेस्ट अवार्ड २०२३’ जितेकोमा हामी नेपाली उत्पादनप्रति गौरव गर्छौँ, कालो र सुनौलो रङ्गको उत्कृष्ट स्वादको ब्याजबाट सम्मानित हुन् पाउँदा अत्यन्त हर्षित छौँ, हाम्रो नेपाली उत्पादनलाई अवार्ड गरिएको यो तेस्रो उत्पादन हो’ नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले भने ।

यसअघि नेपाल फुड्सकै उत्पादन राँगाको सुकुटी र नेपालमै बनेको लप्सीको आचारले पनि अवार्ड जितेका थिए ।

त्यस्तै नेपाल फुड्सकी शुष्मा शर्माले भनिन् ‘उत्कृष्ट टु स्टारको अवार्ड प्राप्त गर्नु भनेको आफूजस्ता स्वतन्त्र उत्पादकहरूको लागि निकै महत्त्वपूर्ण हो किनकि यसले कडा परिश्रम र दृढ सङ्कल्पलाई थप सार्थक र मजबुत बनाउँछ । ‘ग्रेट टेस्ट’ खाना र पेय पदार्थ उत्पादन क्षेत्रमा स्वाद र गुणस्तरको लागि सबैभन्दा ठुलो प्रशंसा भएकाले यो हाम्रो लागि महत्त्वपूर्ण क्षण हो ।’

नेपाली खानालाई विश्वभरि चिनाउने अभियानस्वरुप नेपाल फुड्सले दुई दर्जन बढी मुलुकमा नेपाली उत्पादन वितरण गर्दै आएको छ । बीबीसी मास्टर सेफका उपविजेता सन्तोष शाहसँगको रेसिपीमा विभिन्न प्रकारका तयारी खानेकुराहरु पनि नेपाल फुड्सले वितरण गर्दै आएको छ ।