१५ बैशाख २०८१, शनिबार
Follow Us

राजनीतिक दलको उम्मेदवारले हार्ने देखे पछि ३ जना अध्यक्ष बनाइयो : रविना थापा, अध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०८०, आईतवार ०१:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापाले राजनीतिक दलको दवावमा ३ जना अध्यक्ष बनाईएको स्वीकार गरेकी छन् ।

थापाले अमेरिकास्थित एक अनलाइनलाई शनिवार दिएको अन्तरवार्तामा संघको १० औं महाधिवेसनमा राजनीतिक दलहरुको ठाडो हस्तक्षेपका कारणले तीन जना अध्यक्ष बनाउन बाध्य भएको बताइन् ।

उनले भनिन् ‘संघको १० औं महाधिवेसनमा पनि एक अध्यक्ष पदको लागि निर्वाचन हुने तयारी थियो । नेपालका राजनीतिक दलले जिताउन खोजेको उम्मेदवारले हार्ने निश्चित भए पछि तीन तीन जना अध्यक्ष बनाउनु पर्ने विषम परिस्थिति आयो।’

उनले सो महाधिवेशनमा तीन जना अध्यक्ष संघका महाधिवेसन प्रतिनिधिहरुले स्वीकार गरे पछि मात्र बन्न पुगेको बताइन् ।

थापाले कमजोर उम्मेदवारहरुले अहिले पनि राजनीतिक दल र पैसाको चलखेल गर्न सक्ने भन्दै सबैलाई सजक रहन आग्रह गरिन् । उनले अक्टोवरमा हुने ११ औं महाधिवेसनमा अध्यक्ष पदमा १ जनाको लागि मात्र अनलाइन मतदान हुने बताइन् ।

संघको ११ औं महाधिवेसन अक्टोवरको दोस्रो साता काठमाण्डौंमा हुदैछ । अध्यक्ष पदको लागि डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।