१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन : टिम डा. बद्री केसीकोे महासचिवमा जोशी, उपाध्यक्षमा वेगम र थापा निश्चित

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८०, शनिबार ०२:२१

लण्डन । अक्टोवर तेस्रो साता हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सरगर्मी बढेसंगै संघको नेतृत्वको लागि आकांक्षी रहेका उम्मेदवारहरुले आआफ्नो टिम बनाउन थालेका छन् ।

संघको ११ औं महाधिवेसनको लागि अध्यक्षको आकांक्षी रहेका उपाध्यक्ष महेश श्रेष्ठले विहिवार एउटा समूहसंग सहमति गरे पछि निर्वाचनको तरंग बढेको हो ।

संघको अध्यक्ष पदको लागि मुख्य प्रतिश्प्रर्धी मानिएका कार्यकारी अध्यक्ष डा. बद्री केसी, अर्का उपाध्यक्षद्धय डा. हेम राज शर्मा, महेश श्रेष्ठ, रविना थापा र आरके शर्माले आआफ्नो जोड घटाउ सुरु गरेका छन् ।

श्रेष्ठले संघको १० औं महाधिवेसनमा असन्तुष्ट पक्षको नेतृत्व गरेको कुल आचार्य समूहबाट आफ्नो उम्मेदवारी अघि सारे पछि संघका महासचिव गौरीराज जोशीले असन्तुष्टी व्यक्त गरेका छन् । जोशीले १० औं महाधिवेसनको निर्णयलाई जनअनुमोदनको लागि भन्दै पुनः महासचिवमा उम्मेदवारी बन्ने घोषणा गरेका थिए । १० औं महाधिवेसनमा कार्यकारी अध्यक्ष डा. बद्री केसीको तर्फबाट उम्मेदवार बनेका जोशी पुनः केसीको समूहबाटै महासचिव पदमा उम्मेदवार बन्ने भएका हुन् ।

कार्यकारी अध्यक्ष डा. केसीले ११ औं महाधिवेसनमा भने औपचारिक प्यानल नबाउने भएका छन् । उनले उम्मेदवारी दर्ताको दिन सम्म ‘पर्ख र हेर’को रणनीति लिने छन् । तर केही महत्वपूर्ण पदमा भने आन्तरिक सहमति गरेर अघि बढ्ने तयारी उनको रहेको छ । सोही अनुरुप संघको महिला उपाध्यक्षमा यासमिन वेगम सैयद र युवा उपाध्यक्षमा रोशन थापालाई अघि सारेका छन् ।

अध्यक्षका लागि अर्का आकांक्षी डा. हेम राज शर्माले संघका राष्ट्रिय समितिबाट प्राप्त हुने प्रतिनिधिहरुको आधारमा आफुले अन्तिम निर्णय लिने बताएका छन्। उनले प्रतिनिधिहरुको पहिलो नामावली सार्वजनिक भए पछि सबै अध्यक्षहरुका आकांक्षीहरुसंग छलफल गर्ने बताए ।