१६ बैशाख २०८१, आईतवार
Follow Us

‘एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत बनाउने बेलायतबाट उद्घोष’

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८०, सोमबार ०७:३७

अल्डरशट । ११ औं महाधिवेशन नजिकिएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चहलपहल सुरु भएको छ । संघका ५९ देशका राष्ट्रिय समितिका निर्वाचन सम्पन्न भए लगत्तै संघका केन्द्रीय नेताहरु बेलायतमा भेला भएर संघको आगामी नेतृत्वको बारेमा चर्चा गरे ।

एनआरएनए यूकेले आइतवार अल्डरशटमा आयोजिक कार्यक्रममा जापान, अमेरिका, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल, माल्टालगायतका देशमा प्रतिनिधिहरुले एउटै थलोमा जम्मा भएर संघको गत १० औं महाधिवेशन भएको गल्ती पुनः नदोहोराउने प्रतिबद्धता जनाए । कार्यक्रममा सम्बोधन गर्ने अधिकांश वक्ताहरुले संघको नयाँ नेतृत्वका लागि निर्वाचनभन्दा सहमतिमा जान सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष कुल आचार्यले संघको अभियानमा उतारचढाव आए पनि केही महत्वपूर्ण उपलब्धि भएको बताए । आचार्यले गैरआवासीय नेपाली नागरिकता दिनको लागि सरकारद्वारा प्रस्तावित नागरिकतासम्बन्धी कार्यविधि अव्यवहारिक रहेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको आगामी नेतृत्व चयन सर्वसम्मतबाट गर्न सकिने विचार व्यक्त गरे । उनले सहमति खोज्न राजनीतिक दलका ढोका हानेर सम्भव हुने बताए । संघको नेतृत्वको लागि आकांक्षी रहेका डा. शर्माले अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठलाई लक्षित गर्दै भने ‘आज सबै वक्ताहरुले सहमतिको पक्षमा उभिनु भयो, म पनि सहमतिको पक्षमा छु तर सबैको मन जित्न नसक्ने व्यक्ति सहमतिको उम्मेदवार बन्न सक्दैन ।’ सहमतिमा नेतृत्व चयन गर्ने भए खुल्ला भएर छलफल गर्न सकिने उपाध्यक्ष शर्माको भनाइ थियो ।
डा. शर्माले नेपालमा २०४६ सालको आन्दोलनमा भाग लिने, रेलिङ भाँच्ने धेरै संघको नेतृत्वमा रहेका अहिलेपनि त्यस्तै बानी नछोडेको बताए।

‘यस्तै प्रकारको राजनीति अब धेरै समय टिक्दैन,’ उपाध्यक्ष शर्माले भने,‘विदेशमै हुर्केकाले पुरानो राजनीति बुझ्दैनन्। अहिले नेपालमै हुर्किनेलेपनि रेलिङ भाँचेका हुँदैनन्। त्यसैले अब एनआरएनएको भविश्य सुन्दर छ।’

शर्माले विदेशमा रहेका केही प्रतिशत मात्रै एनआरएनएका सदस्य रहेको बताउँदै हावर्ड जस्ता विश्व विद्यालयमा अध्ययन अध्ययापन गराउने नेपाली रहेको बताए। एनआरएनएका नेतृत्वलाई मात्र नहेरी बाहिर रहेकालाई पनि हेरेर दृष्टीकोण बनाउनु पर्ने बताए।

विदेशमा बस्ने नेपालीलाई भोटिङ गर्न दिए एनआरएनएको महत्व नेपालमा बढ्दै जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले गैरआवासीय नेपाली संघको जननी देश बेलायतबाट संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न पाएको प्रति खुशी व्यक्त गरे । श्रेष्ठले संघको ११ औं महाधिवेसनको लागि उम्मेवारी घोषणा गर्दै संघको अभियानमा सबै पक्षलाई समेटर लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले भने गैरआवासीय नेपाली संघको १० औं महाधिवेसको विवादले विसम परिस्थिति रहेको छ । संस्थाको भविष्यको लागि पनि सहमति र सहकार्य आवश्यक रहेको छ त्यसैले आगामी नेतृत्व सहमतिमै चयन हुनुपर्छ ।

‘विषम परिस्थितीबाट बाहिर निस्कन सहमति, सहकार्य र एकता माध्यमबाट अघि बढ्नु पर्छ,’ अध्यक्षका प्रत्यसी श्रेष्ठले भने,‘सकेसम्म सहमतिकै आधारमा नेतृत्व चयन हुनुपर्छ।’

एनआरएनएमा अहिले असन्तुष्ट समेत रहेको बताउँदै आफुले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै गैरआवसीय नेपालीबाट राज्यलेपनि ठुलो आशा गरेको बताए।

‘६०–७० लाख नेपाली बाहिर बसेका छन्। जसको सम्पत्ति नेपालको नेपालमा कुल ग्रहस्थ उत्पादनभन्दा ५ गुणा बढी छ,’ उनले भने,‘विदेशमा रहेका नेपालीसंग भएको पूँजी र ज्ञान कसरी लगानी गर्ने भन्ने मात्रै हो।’

उनले गैरआवासीय नेपालीले लगानीको झन्झट, सम्पत्तिको संरक्षण, विदेशमा रहेका नेपालीहरुको समस्या लगायतलाई कसरी संबोधन गर्न सकिन्छ भन्ने विषयमा रणनीतिक खाका तयार पारेको जानकारी दिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नारायण आचार्यले गैरआवासीय नेपाली संघको अभियानमा बेलायतबासी नेपाली समुदायको उल्लेख्य भूमिका रहेको चर्चा गरे । उनले आगामी दिनमा सबैलाई बचाउन र समेट्न सक्ने नयाँ नेतृत्वको खाचो रहेको तर्क गरे ।

गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष राज रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै संघको २० वर्षको अभियानमा संस्थाले उठाएका मागहरु नेपाल सरकारले सम्बोधन गरेको बताए । उनले मध्यपूर्वमा रहेका २० लाख नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्स्ले देशको अर्थतन्त्र थानिएको बताए । उनले विगतको कमिकजोरीलाई विर्सेर नयाँ सिराबाट एकता खोजेर संघको आगामी महाधिवेसलाई एकताको महाधिवेशसको रुपमा सम्पन्न गर्न आब्हान गरे ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले एनआरएनए राष्ट्रिय समितिका निर्वाचनहरु प्रयोग भएको फेसभेरिफिकेशन र एमआईएस प्रणाली सफल भएको बताए । उनले गैरआवासीय नेपाली संघको १० औं महाधिवेसन भएको तिक्तता मेटेर ११ औं महाधिवेसन गर्न संस्था सकृय रहेको बताए । उनले संघका ५९ देशमा भएको निर्वाचन विवाद रहित भएको भन्दै सन्तोष व्यक्त गरे ।

उनले संघका उपहासचिव रामशरण सिमखडाले राजनीतिक दलको टिकट लिएर आफू उम्मेदवार नबन्ने बताए । उनले दलिय प्रभावका कारणले संस्था विभाजनको दिसामा अघि बढेको बताए । उनले संघका पदाधिकारीहरुले नेपालका राजनीतिक दलहरुका नेताहरुलाई भेट्दैमा आशंका नगर्न आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका सचिव गंगाधार गौतमले गैरआवासीय नेपाली संघलाई नेपालको समृद्धिसँग मात्र होइन् गरिवीसंग पनि जोड्नु पर्ने बताए । उनले गैरआवासीय नेपाली संघको अगामी नेतृत्व सहमतिबाट हुनुपर्नेमा विचार व्यक्त गरे । उनले संघको अक्टोजरमा हुने ११ औं महाधिवेसनमा हुने महाधिवेसनमा सर्वसम्मत नेतृत्व चयन हुने दावी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाल राजदुत ज्ञानचन्द्र आचार्यले गैरआवासीय नेपाली संघले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आचार्यले एनआरएनए यूकेले भूकम्प, कोरोना महामारी जस्ता प्रकृतिक प्रकोपको वेला नेपाललाई गरेको सहयोगको स्मरण गर्दै अगामी कार्यकालको सफलताको लागि शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तथा सांसद सोविता गौतमले राष्ट्र निमार्णको लागि गैरआवासीय नेपालीहरुको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरिन् । उनले गैरआवासीय नेपालीहरुलाई नेपाल भन्दा पनि नेपालको समृद्धिको लागि नेपाललाई गैरआवासीय नेपालीको आवश्यकता रहेको बताइन् । उनले आगामी दिनमा गैरआवासीय नेपाली संघका अभियानमा सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बाधेन गर्दै नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न आग्रह गरे ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले संघको अगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्न आब्हान गरे । गुरुङले गैरआवासीय नेपाली संघलाई धनीहरुको कल्वको रुप हेरिदै आएको चर्चा गर्दै अगामी ११ औं महाधिवेसनबाट बैद्धिक व्यक्तित्वले नेतृत्व लिनु पर्नेमा जोड दिए ।

गुरुङले गैरआवासीय नेपाली संघको अभियानको नेतृत्व यूकेले गरिरहेको अवस्थामा पुनः नेतृत्व यूकेलेनै लिनु पर्ने बताए । उनले संघको सर्वसम्मत नेतृत्वको लागि संघको वरियताक्रममा पहिलो नम्बरमा रहेका र लामो समय देखि अनुभव बटुलेका डा हेम राज शर्माको नाममा सर्वसम्मतको प्रस्ताव गरे ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघकी पूर्व आइसीसी सदस्य (बेल्जियम) ले नयाँ पुस्तालाई एनआरएनएमा जोड्ने कुरामा जोड दिइन् । यो अभियानमा नयां पुस्ताको ठूलो भरोसा रहेको बताइन् ।

कार्यक्रममा एनआरएनए प्रोतुर्गलका पूर्वअध्यक्ष भीमकमल केसी, क्यानाडाका निवर्तमान अध्यक्ष दीपक गौतम, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदी, एनआरएनए सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, युरोप क्षेत्रीय उपसंयोजकद्धय दयानिधी सापकोटा, युरोप युवा संयोजक रोर्वट लिम्बु, एनआरएनएका सल्लाहकार विश्वआर्दश पण्डित, काउन्सिलर जीत रानाभाट, प्रवासी नेपाली मंच बेलायतका अध्यक्ष टुंगा भुषाल, पत्रकार चिरन शर्मा, लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । एनआरएनए यूकेका महासचिव गोविन्द खरेलले संचालन गरेको कार्यक्रममा रविन्द्र अधिकारीले स्वागत मन्तव्य दिएका थिए ।