१९ असार २०८१, मंगलवार
Follow Us

एनआरएनए निर्वाचनः माओवादीसँग कसरी कांग्रेस पछारियो ?

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०८०, शनिबार ०७:१७


कल्पनै नगरेका आरके शर्मा कसरी दोस्रो भए ?

लण्डन । ‘अहिले एनआरएनएको निर्वाचन भइरहेको छ । अहिले हाम्रो पार्टीलाई कहिलै प्राप्त नभएको ठूलो अवसर आउँदैछ । आरके शर्माको नेतृत्वमा निर्वाचन प्रकृया अघि बढेको छ । यो हाम्रो पार्टीको लागि धेरै समय पछि प्राप्त अवसर हो । सम्पूर्ण पार्टीको तागत यसमा लगाएका छौं । त्रिपक्षीय निर्वाचन हुँदैछ । हामीले जित्ने ठूलो सम्भवना छ । सबै मोर्चाहरुलाई परिचालन गरेर यो निर्वाचन जित्न निर्देशन दिन्छु’, नेकपा माओवादी नेता जर्नादन शर्माले सार्वजनिक रुपमा एनआरएनए निर्वाचनको बारेमा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्चालनमा भाइरल भइरहेको छ ।

पूर्वमन्त्रीसमेत रहेका प्रभावशाली नेता शर्मा र नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनलाई प्रत्यक्ष रुपमा अनुगमन गरेका थिए । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले आरके शर्माको पक्षमा भोट मागेका थिए । तर गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी समूहले आफ्नो प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महेश श्रेष्ठ हुने आंकलन गरेको थियो तर, श्रेष्ठ तेस्रो भए शर्मा दोस्रो ।

डायसफोरामा भएको निर्वाचनमा कांग्रेस उम्मेदवार तेस्रो भएको र त्यही पनि माओवादी जस्तो विदेशमा संगठन कमजोर भएको पार्टीको जत्तिको हैसियत नबनेकोमा गैरआवासीय नेपाली संघको अभियानमा चासो राख्ने अधिकांश नेपाली कांग्रेसका नेताहरुलाई अहिलेको चिन्ताको विषय बनेको छ ।

तर, नेपाली कांग्रेस र केही माओवादी नेताहरुले सोचेजस्तो कांग्रेस कमजोर र माओवादी संगठन बलियो भएर आरके शर्माले दोस्रो मत प्राप्त गरेका होइन । मध्यपूर्वमा स्थापित व्यवसायी शर्माको गैरआवासीय नेपाली संघमा लामो योगदान रहेको छ । उनी निकै सरल र सहयोगी छन् । आर्थिक रुपमा बलियो मानिएका शर्माले गत एक वर्षदेखि आफूले गैरआवासीय नेपाली संघको नेतृत्व पाउनु पर्ने भन्दै विश्वव्यापी करिब तीन दर्जन देशको भ्रमण गरे । माओवादी दलको सहयोग लिए तर गुट–उपलाई बोकेनन् । विश्वभर छरिएका माओवादीको पूरै मोर्चा उनको पक्षमा एक भएर उभिएको थियो ।

मुख्य रुपमा उनले दुई दशक लामो अभियानमा मध्यपूर्वले नेतृत्व पाउन नसकेको भन्दै मध्यपूर्वलाई एक बनाउन सकृय रहे । मध्यपूर्वमा उनले अन्य अध्यक्षका उम्मेदवार डा. बद्री केसी र महेश श्रेष्ठले भन्दा दोब्बर बढी मत प्राप्त गरे । शर्माले ५२८, महेश श्रेष्ठले १३२ र डा. केसीले १९९ मत प्राप्त गरेका थिए । शर्माले प्राप्त गरेको मतको करिब ४२ प्रतिशत मत मध्यपूर्वको रहेको छ ।

बाग्लुङमा जन्मिएका शर्माकी श्रीमति बन्दना शर्मा सापकोटाले समेत उनको निर्वाचनमा ठूलो संख्यामा मत तान्न सकेको चर्चा गैरआवासीय नेपाली बृतमा रहेको छ । गैरआवासीय नेपाली संघको निर्वाचनमा बाग्लुङ स्थायी घर भएको मतदाताहरुले अध्यक्षका प्रत्यासी महेश श्रेष्ठलाई दिने अपेक्षा गरिए पनि सापकोटाको सकृयताले ती मत शर्माको पक्षमा तानिएका थिए ।

उनको व्यक्तिगत सरल स्वभावकै कारणले उनले नेपाली कांग्रेस र केही डा. बद्री केसी समूहको भोट तान्न सफल भएका थिए । उनले अध्यक्षका प्रत्यासी श्रेष्ठ र केसीका भोट बाराबरीमा रुपमा आफ्नो पक्षमा तान्न सफल भएका थिए ।

शर्माले संघको निर्वाचनमा ठूलो आर्थिक रकम खर्च गरेको उनी निकटवर्तीहरुले नै बताउने गरेका छन् । शर्माले संघका राष्ट्रिय समितिका निर्वाचन देखिनै सदस्यता वितरणमा ठूलो राशी खर्च गरेको बताइन्छ । शर्माले निर्वाचनको क्रममा आफ्नो प्यानल बनाउदा समेत सुझबुझ पु-याएको देखिन्छ ।

उनले चुनावी व्यवस्थापनको लागि तयार गरेको सचिवालय निकै प्रभावकारी र चलायमान थियो । शर्माले संचारमध्यमलाई पूर्ण रुपमा परिचालन गरेका थिए । आफ्ना दैनिक गतिविधिहरुलाई पारदर्शी बनाएका थिए ।

संघको महासचिव पदमा आफ्नो पक्षबाट उम्मेदवार नै खडा नगरेर उनले कांग्रेस समर्थकहरु कुल आचार्य र डा. केशव पौडेल लगायतको केही मत बटुल्न सफल भए ।
कांग्रेस उम्मेदवार महेश कुमार श्रेष्ठको फितलो चुनावी प्यानलको फाइदा उठाउदै शर्मा दोस्रो बन्न पुगे ।

एनआरएनए निर्वाचनमा महेशकुमार श्रेष्ठ किन तेस्रो भए ? (समाचार टिप्पणी)