१२ श्रावण २०८१, शनिबार
Follow Us

पोखरामा १८ करोड लागतमा बौद्ध गुम्बा निर्माण

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०८०, मंगलवार ०६:१६

कास्की- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले भगवान् गौतम बुद्धले प्रतिपादन गर्नुभएका पञ्चशिल तथा आर्य सत्यहरुलाई आत्मसात गर्न सके विश्वमा शान्ति छाउने बताउनुभएको छ ।

हिजो पोखरा रामघाटस्थित नवनिर्मित बौद्ध गुम्बा भवनको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश गुरुङ कला संस्कृतिको उद्गमस्थल भएको दावी पनि गर्नुभयो । उहाँले सास्कृतिक एकतामा जोड दिनुहुँदै हिजोआज नेपाल लगायत अन्य देशमा पनि गुरुङ सस्कृतिको अध्ययनमा चासो बढेको औँल्याउनुभयो ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, तमु धि नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङ, बौद्ध अर्घौ सदनका अध्यक्ष भुवनसिंह गुरुङ लगायतले पनि धारणा राख्नुहुँदै पोखरामा व्यवस्थित अर्घौ स्थल आवश्यक रहेकोमा गुम्बा निर्माणसँगै उक्त आवश्यकता पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

बौद्ध अर्घौ सदन परिषद्मा निर्माण भएको तीन तले उक्त गुम्बाको लागत रु. १७ करोड ९६ लाख छ । नवनिर्मित गुम्बाको भुईतलामा पाँच सय जना क्षमताको बहुउद्देश्यीय सभाकक्ष निर्माण गरिएको छ ।

पहिलो तलालाई पूजा हलका रुपमा विकास गरिएकोमा त्यहाँ भगवान् बुद्धको विशाल मुर्तिका अलवा चेन्रोसिग तथा गुरु पध्मसम्भवको शालिक राखिएको छ । पूजा हलकै भित्तामा हजार संख्यामा बुद्धका स–साना मुर्ति जडान गरिएको छ भने बुद्धको जीवन लीलामा आधारित विभिन्न आकृतिका चित्र पनि कोरिएको छ ।

गुम्बाको दोस्रो तलालाई मिनी आर्ट ग्यालरी (संग्राहालय), पुस्तकालय, अतिथिगृह वा कक्ष तथा अन्तिममा मुख्य गुरुसँग भेटघाट कक्ष निर्माण भएको छ ।

कार्यक्रमका बीच निर्माणमा रु.२४ लाख ३९ हजार दान गर्नुहुने क्या.यमबहादुर गुरुङको परिवार, विभिन्न क्षत्रीय तमु समाज सहित ५ लाख बढी दान गर्नुहुने करिव एक सय ५० व्यक्ति एवम् संघसंस्थालाई सम्मान गरिएको छ ।