१२ श्रावण २०८१, शनिबार
Follow Us

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०८०, बिहीबार १४:०३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ सुरु भएको छ ।

मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरे । उद्घाटनका क्रममा उनले निजी क्षेत्रले वर्षौंदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडि बढाउन आफ्ना तर्फबाट पहल गर्ने विश्वास दिलाए ।

अन्तर्राष्ट्रिय व्यापार मेलाको यो नवौं संस्करण हो । मेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा भएको हो । मेलाको सह आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ छन् ।

निजी क्षेत्रले करिब तीन देशकदेखि स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनीस्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा कठिनाइ भइरहेको व्यवसायीहरु बताउँछन् ।

मंसिर १८ गतेसम्म चल्ने मेलामा नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिब २१० स्टलमार्फत विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, कार्यकारी सदस्यहरु, नेपालस्थित बंगलादेश, पाकिस्तान र श्रीलंकाका दूतावासका उच्च अधिकारी, महासंघका सदस्य संघ/संस्थाका पदाधिकारीहरु, उद्यमी व्यवसायी नेपाल, चीन, भारत, बंगलादेश, पाकिस्तानका प्रदर्शकहरुको उपस्थिति थियो । करिब एक लाख आगन्तुकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।