१७ असार २०८१, आईतवार
Follow Us

अष्ट्रेलियामा गैरआवासीय नेपालीको २० करोड डलर लगानी, सातौं ठूला लगानीकर्ता नेपालीहरु

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०८०, शनिबार ०२:५०

लण्डन । लगानीको अभावमा नेपालभित्र घरजग्गा कारोबार सुस्ताइरहेको बेला अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीले ठूलो लगानी गरेको पाइएको छ ।

अष्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले यसैसाता सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीको ठूलो लगानी रहेको देखिएको हो । ट्रेजरी डिपार्टमेन्ट अष्ट्रेलियाको विदेशी लगानी नियामक निकाय हो ।

प्रतिवेदन अनुसार जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नपालीहरुले २० करोड डलर लगानी गरेका छन् । उक्त एक वर्षको अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा सातौं ठूलो लगानी नेपालीहरुको रहेको प्रतिवेदनमा उल्लेख छ ।

चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा ठूलो लगानी नेपालको छ । अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपाल पछाडि इन्डोनेसिया, बेलायत र मलेसिया छन् ।

पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घर–जग्गा कारोबारका लागि नेपालीले गरेको २८१ वटा प्रस्ताव पास भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो तीन महिना (२०२३ को अप्रिल, मे र जुन) मा मात्र अष्टे«लियाको घरजग्गा व्यवसायमा नेपालीले १० करोड डलर लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा मात्र नेपालीहरुको घर–जग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको छ ।

जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा सबैभन्दा बढी चीनले ३.४ अर्ब डलर लगानी गरेको छ ।

त्यही अवधिमा हङकङले ६० करोड डलर, भियतनामले ४० करोड डलर, ताइवानले ३० करोड डलर, भारतले २० करोड डलर, सिंगापुरले ३० करोड डलर, इन्डोनेसियाले २० करोड डलर, बेलायतले २० करोड डलर र मलेसियाले २० करोड डलर लगानी गरेका छन् ।

गत आर्थिक वर्ष सन् २०२१/२२ मा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले ०.१ अर्ब डलर (१० करोड डलर) लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा जनाइएको छ ।