१२ श्रावण २०८१, शनिबार
Follow Us

लोसपामा खटपट सतहमा नेता महतोद्वारा बैठक बहिष्कार

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८०, आईतवार १३:२४

काठमाडौँ । केन्द्रीय समितिमा नेताहरुको मनोनय र पदाधिकारीको जिम्मेवारी बाँडफाँटलाइ लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र खटपट देखिएको छ । मधेशवादी नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिमा समावेश नगरेको र उपयुक्त जिम्मेवारी नदिएको भन्दै पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले आइतबार बसेको केन्द्रीय समितिको बैठक बहिष्कार गर्नु भएको छ ।

‘पार्टीमा योगदान गरेका मधेशका नेता कार्यकर्तालाई पाखा लगाउने काम भयो । त्यसमा मेरो असन्तुष्टि हो । इमान्दार कार्यकर्ता र नेतालाई बाहिरै राखेर बैठकमा कसरी जानु ? पार्टी अध्यक्षलाई यो विषय सम्बोधन गर्नुहोस् अनि बैठकमा आउला भनेको छु,’ नेता महतोले भन्नुभयो ।

केन्द्रीय समितिमा नेताहरूको मनोनयन र जिम्मेवारी बाँडफाँटमा पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी गरेको नेता महतोको आरोप छ । राष्ट्रिय सभाको निर्वाचन, विस्तारित केन्द्रीय कार्य समिति बैठक लगायतका ९ वटा विभिन्न एजेन्डामा छलफल गर्न आइतबार केन्द्रीय कार्य समितिको बैठक राखिएको थियो ।