१२ श्रावण २०८१, शनिबार
Follow Us

सन्दीपविरूद्धको मुद्दामा आज फैसला आउन सक्ने

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८०, शुक्रबार ०६:०१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउने सम्भावना छ। आइतबारदेखि अन्तिम सुनुवाइका लागि पेसी चढेकोमा बहस हुँदै आइरहेको उक्त मुद्दा हिजो पनि हेर्दाहेर्दैमा परेको थियो।

बिहीबार सन्दीप लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए। हिजो लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस सारेका थिए। आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन्। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्। न्यायाधीश ढकालले आजै फैसला सुनाउन सक्ने सम्भावना छ।