२७ असार २०८२, शुक्रबार
Follow Us

भवन उद्घाटनको राजनीति: पुरानो शिलालेख फुटाएर फेरि उद्घाटन

नेपालब्रिटेन संवाददाता
४ माघ २०८०, बिहीबार १३:०८

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका प्रशासनिक भवन पुन उद्घाटन गरिएको छ । मेयर वीरेन्द्र भट्टले आज बिहीबार भवनको उद्घाटन गरेका हुन् । यही प्रशासनिक भवनको वि सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउँदले २०७८ सालमा उद्घाटन गरेको थिए ।

त्यसबेला भित्तामा राखिएको शिलालेख फुटाइएको छ र प्राङ्गणमा नयाँ मेयरको नामसहित शिलालेख गरीएको स्रोतले जानकारी दिएको छ । पुरानो शिलालेख हटाइएको ठाउँमा अहिले निर्वाचित जनप्रतिनिधिहरुको नामावली राखेर उद्घाटन गरीएको छ । उद्घाटन कार्यक्रम चलिरहँदा एमालेका नेता तथा कार्यकर्ताले गेट बाहिर नाराबाजी गर्दै थिए ।

एकपटक उद्घाटन भइसकेको भवन पुनः उद्घाटन गर्नु गलत भएको भक्न्दै एमाले नेता कार्यकर्ताले बिहान नगरपालिका घेराउ समेत गरेका थिए । भवन उद्घाटन कार्यक्रममा वीरेन्द्र भट्टले भने विगतमा गलत तरिकाले उद्घाटन भएको दाबी गरेका छन । एसियाली विका बैकको १३ करोड ४६ लाखको अनुदान सहयोगमा नगरपालिकाको प्रशासनिक भवन निर्माण थालिएको थियो ।

दुई तले भवनको निर्माण पुरा भएको थिएन । तत्कालीन मेयर साउदले कार्यकाल सकिने बेलामा १४ चैत २०७८ मा उद्घाटन गरेका थिए । त्यो बेला नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलले त्यसको विरोध गरेका थिए ।

अहिले भवन निर्माण सम्पन्न भएर एडीबीले नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर उद्घाटन कार्यक्रममा कार्यक्रमलाई उपमेयर शारदादेवी रोकायासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका थिए ।

धेरै पढिएको