चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर हर्क साम्पाङको बिसेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।
‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, ‘चलचित्रमा उहाँको बिसेष भूमिका हुनेछ ।’
चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र हो। चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । चलचित्रमा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ।