२४ असार २०८२, मंगलवार
Follow Us

पञ्चकोटमा महायज्ञ, पाँच हजार किलोको महाघण्ट (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०८०, सोमबार १९:२४

प्रतिक्षा शर्मा । पञ्चकोट । ढोरपाटन । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो ।

विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् ।

विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए ।


मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउँछन् । महाघण्टी बनाउन आठ वर्ष लागेको थियो ।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको उनले बताए । महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको कमलनयनाचार्यले बताए ।

धेरै पढिएको