१३ जेष्ठ २०८१, आईतवार
Follow Us

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला, अध्यक्षमा नेकाले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०८०, आईतवार ०६:२३

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनय गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा १ बमोजिम राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् ।

यसैबीच राष्ट्रिय सभाको अध्यक्ष पदमा पनि कांग्रेसले उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको काठमाडौ बुढानीलकण्ठस्थित निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय सभामा रहेका नेपाली कांग्रेसका सांसदसंगको छलफलपछि मात्र टुंगो लगाइने बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

यसैगरी नेपाली कांग्रेसले राष्ट्रिय सभामा रहेका अन्य दलहरुसँग समेत आफ्नो उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नेभएको छ । पार्टी नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भन्दै नेपाली कांग्रेसले राष्ट्रिय सभाको सदस्य बनाएको थियो ।

अघिल्लो गठबन्धनमा रहेको माओवादीले आफ्नै पार्टीका सांसदलाई अध्यक्ष बनाउने अडान लिएपछि गठबन्धन टुटेको थियो । नयाँ गठबन्धनले राष्ट्रिय सभाको अध्यक्ष माओवादी पार्टीलाई नै दिने सहमति गरेको छ ।