१५ बैशाख २०८१, शनिबार
Follow Us

रास्वपाबाट अलग भएपछि रविमाथि रमेशको टिप्पणी: मैले लोभी–पापीहरूलाई छोडिसकेँ

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८०, बिहीबार १३:५०

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफु अलग भएको घोषणा गरेका छन् । गत वैशाख १० मा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा रास्वपाबाट बारा—२ मा उपनिर्वाचन लडेका खरेलले आफू सो पार्टीबाट अलग भइसकेको घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले जसले राम्रो गर्‍यो राम्रो भन्ने हो । नराम्रो गर्नेलाई नराम्रो भन्ने हो । रास्वपाबाट चुनाव लड्दा सदस्य थिएँ ।’ सामान्य सदस्य चुनाव लड्दा हुनै पर्छ होला, ‘चुनावमा टिकट लिँदा सदस्य हुनुपर्ला नि हैन । तर, लोभी पापी भएपछि रास्वपामा काम गर्न मन लागेन । अहिले म रास्वपाको सम्पर्कमा छैन ।’ रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै गृहमन्त्री बनेको भन्दै खरेलले लोभी–पापीको संज्ञा दिएका हुन । उनले भने, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुराहरू छन् ।

सबैलाई पद चाहिएको छ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि आरोप लागेको मान्छे जानुहुँदैन, ‘चेन्ज गर्छु भनेर हिँड्ने मान्छेहरूमा आम नागरिकले आशा गरेका छन् । ती सबै लोभी, पापी पदकै लागि दौडिने मान्छेसँग के सहकार्य गर्नु ? त्यही भएर म टाढिएको हुँ ।’ उनले अहिलेको निर्वाचनमा रास्वपालाई सरकारमा नजाने म्यान्डेट दिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा जोडिएर केही नहुने बताएका छन् ।

उनले भने, ‘म राजनीति बुझ्ने मान्छे त होइन । म एउटा सिपाही हुँ । खड्गप्रसाद ओली, प्रचण्ड र शेरबहादुर देउवासँग जोडिएर केही हुँदैन भन्ने मात्र बुझेको छु । यिनीहरूलाई विस्थापित नगरिकन केही चेन्ज हुँदैन भन्ने मात्र बुझेको हो । उहाँ (रवि) जानुभयो । त्यही भएर म रास्वपाबाट टाढिएँ । म रास्वपामा छैन ’।

एक टेलिभिजनमा ‘जनता जनार्दन’ कार्यक्रममार्फत् आफूले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा गरेको उनले बताए । ‘सामान्य नैतिकता भएको मान्छेले त पहिलो आफू क्लियर हुनुपर्‍यो । गलत नगरेका होलान् । हाम्रो शुभकामना छ ,’ उनले भने ।