२३ बैशाख २०८१, आईतवार
Follow Us

यस्तो बन्दैछ एनआरएनमा चुनावी समीकरण

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार २१:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन आगामी अक्टोवर १४ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने तय भएको छ । एनआरएन विधानअनुसार यो सम्मेलनले नयाँ नेतृत्वको समेत चयन गर्नेछ । विधानमा भएको व्यवस्थाअनुरुप यतिबेला संघको विश्वभरि छरिएका ७४ राष्ट्रिय समिति (एनसीसी) मा चुनावी चटारो छ । विधानतः प्रत्येक राष्ट्रिय समितिले सेप्टेम्बर १५ भित्र राष्ट्रिय समितिको निर्वाचनसहित केन्द्रीय प्रतिनिधि (अन्तर्राष्ट्रिय समन्वयन समिति, आइसीसी) चयन गरिसक्नु पर्नेछ । समयसीमाभित्र अधिवेशन नगर्ने राष्ट्रिय समितिले विश्व सम्मेलनमा भाग लिन पाउने छैनन् । राष्ट्रिय समिति निर्वाचन सुरुवातसँगै संघको आगामी नेतृत्व लिन भित्रभित्रै रस्कारस्की चलेको चर्चा छ ।

दावी
संघको नेतृत्वको लागि अहिलेको उपाध्यक्षद्वय कुमार पन्त र भवन भट्ट अगाडि देखिएका छन् । दुबै उम्मेदवारलाई संघको अगामी अध्यक्षको रुपमा हेरिएको छ । उपाध्यक्ष पन्तले यूरोपलगायत अष्ट्रेलिय, मलेसिया, ओमान, अमेरिका, क्यानाडा न्युजिल्याण्ड पुगेर आफ्नो पक्षमा चुनावी महोल बनाएको बुझिएको छ । यस्तै अर्का उपाध्यक्ष भट्टले आफू २ पटकसम्म उपाध्यक्ष भइसेको भन्दै स्वभाविक अध्यक्षको उम्मेदवार भएको भन्दै चुनावी तयारीमा जुटेको उनका नजिककाहरु बताउँछन् । गोर्खा जिल्लामा जन्मेका दुवै उम्मेदवार विदेशमा सफल व्यवसायी हुन् ।

समर्थन
संघको अहिलेको कार्यसमितिको अधिकांश पदाधिकारी भने उपाध्यक्ष कुमार पन्तको पक्षमा देखिएको बताइन्छ । संघको २५ पदाधिकारी मध्ये २१ जना पन्तको पक्षमा खुलेर प्रचारमा लागेका छन् । महासचिव डा. बद्री केसी, कोषाध्यक्ष हिक्मत थापा, सचिव अर्जुन श्रेष्ठसमेत पन्तको नेतृत्वमा जान तयार भइसकेको बताइन्छ । संघको महिला संयोजक सपिला राजभण्डारी, सहसंयोजक रजनी प्रधानसमेत पन्त निकट मानिन्छन् । प्रवक्ता रञ्जु थापा अहिले मध्यमार्गी भूमिकामा देखिएकी छन् । तर पन्तले उनलाई महिला उपाध्यक्ष बनाउन सक्ने सम्भवना बलियो रहेको पन्त निकटहरु बताउँछन् । उपाध्यक्ष भट्टको समर्थनमा कार्यसमितिभित्र निकै न्यून छ । तर कार्यसमितिभन्दा बाहिरको युवा समूहमा भट्टले पक्कड राख्छन् । चुनावी खेलमा चतुर मानिने भट्ट मतदातालाई आफ्नो पक्षमा ल्याउन सिपालु मानिन्छन् । उनको धेरै एनसीसीमा संस्थागतभन्दा व्यक्तिगत सम्बन्ध बलियो रहेको बताइन्छ ।

उम्मेदवारी
संघको अन्य पद मध्य उपाध्यक्ष पदका लागि चर्चामा रहेका डा. बद्री केसी (रसिया ), सोनाम लामा (अमेरिका), त्रिलोक गुरुङ (हङकङ), खगेन्द्र जिसी (अमेरिका) मध्यको समूहले कुमार पन्तलाई सघाउने प्रायः निश्चित छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रन्जु थापाको नाम चर्चामा छ । महासचिव पदमा कोषाध्यक्ष हिक्मत थापा र सचिव अर्जुन श्रेष्ठले दाबी गरेका छन् । संघको संशोधित विधानअनुरुप २ सचिव र सहकोषाध्यक्ष समेत सो अधिवेशनले चयन गर्ने छ । यी पदका लागि अहिलेनै कसैले आकंक्षा देखाएको छैन् ।
गैरआवासीय नेपाली संघको राष्ट्रिय समितिको निर्वाचन चलिरहेकोले धेरै जनाले केन्द्रीय पदाधिकारीमा इच्छा भए पनि मुख भने खोलिसकेका छैनन् । संघको पदाधिकारी पद लिन गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य (यूके), गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेल (अमेरिका), एसी शेर्पा (अमेरिका), गणेश केसी (अष्ट्रेलिया), डिबी क्षेत्री (मध्यपूर्व), महेन्द्र लम्साल (अष्ट्रेलिया), कृष्ण पाण्डे (हङकङ), धरम केसी (साउदी अरब), चिरञ्जीबी थापा (जापान), रोबिन्द्र श्रेष्ठ (जापान), किरणविक्रम थापा (जापान) को तयारी छ । पदाधिकारी पदको दावेदारमध्ये अधिकांश पन्त निकट मानिन्छन् । महिला संयोजकमा रजनी प्रधानको स्वभाविक दावेदारी रहने छ । युवा संयोजकमा लोकराज शर्माले दावी गर्ने सम्भवना छ ।

पूर्वअध्यक्षहरुको सर्मथन कसलाई हुन्छ ?
गतवर्ष गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले स्वीजरल्याण्ड भ्रमणमा थिए । त्यहाँस्थित केही गैरआवासीय नेपाली संघका युवाहरुले घलेलाई मुख खोल्न बाध्य पारे । घलेलाई सोधियो तपाई पछि अब को अध्यक्ष हुन्छ ? उनले प्रस्टै जवाफ दिए ढुक्क हुनुहोस् अब अध्यक्ष कुमारजी हो । घलेको महासचिव भएर काम गरेका पन्त र उनीबीच निकै राम्रो सामिप्यता छ । पहिलो कार्यकालमा घलेलाई सफल पार्न पन्तले निकै मेहनत गरेका थिए । संघको अहिलेको कार्यसमिति अध्यक्ष घलेको अनुकूलता नभए पनि उनको विश्वासपात्र भनेको पन्त नै मानिन्छन् । यद्यपी घले अन्तिम सम्म मध्यमार्गी रहने सम्भवना पनि उत्किैछ । घलेले दोश्रो कार्यकालको नेतृत्व लिएपछि प्रवक्तालगायतका पदाधिकारी नियुक्तिमा पन्तभन्दा भट्ट घलेको नजिक भएका थिए । तर पछिल्लो विवादलाई साम्य पार्ने भूमिका खेलेर फेरि पन्त घले नकिट हुन पुगे । संघको अधिकांश विवादमा पन्तले घलेलाई साथ दिदै आएका छन् । दुई पटकसम्म उपाध्यक्ष भएर काम गरिसकेकाले उपाध्यक्ष भट्टको क्षमता र कार्यशैलीप्रति घले पूर्ण जानकार छन् ।

४ बर्षे कार्यकालको प्रतिष्ठको विषय बनेको लाप्राक नमुना वस्ती र एनआरएन भवन परियोजना अक्टोवर महिनाभित्र पूर्णरुपमा सम्पन्न हुन कठिन छ । ती परियोजनालाई आफूले चाहेअनुरुप अगाडी बढाउन सक्ने विश्वासिलो नेतृत्वको खोजीमा घले छन् । घले निकट मानिएका कांग्रेस नेता दिलबहादुर गुरुङ पन्तको प्रचारमा लागि सकेका छन् । यस्तै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो अहिले संघको चुनावी महोलभन्दा टाढा छन् । उनी जहिले पनि मध्यमार्गी भूमिकामा प्रस्तुत हुन चाहन्छन । संघको नेतृत्व सर्वसम्मत हुनुपर्छ भन्ने उनको मान्यता हो । अर्का पूर्वअध्यक्ष देवमान हिराचनले संघको अभियान छोडिसकेका छन् । प्रमुख संरक्षक जीवा लामिछाने र पन्तबीच व्यवसायिक र व्यक्तिगत घनिस्टता गहिरो छ ।

एनआरएनप्रति आर्कषण कम
विगत बर्षहरुमा जस्तो अहिले गैरआवासीय नेपाली संघभित्र विदेशमा बस्ने नेपालीको आर्कषण छैन् । विभिन्न देशमा भइरहेको राष्ट्रिय निर्वाचनको परिस्थिति हेर्दा दिन भरि काम गरेर साँझ घर फर्केको थकित ज्यामी जस्तो देखिन्छ । संघको अभियान अत्याधिक खर्चिलो र सधै हुनेखानेको बाहुल्यता र प्राज्ञिक वर्गको पलायनका कारणले अभियानको गति सुस्ताएको हो । जर्मनी, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, जापानजस्ता देशको चुनावी माहोल उत्साह जनक रहेको बताइन्छ । गैरआवासीय नेपाली संघको काठमाडौंमा निमार्णाधीन एनआरएन भवनको लागि चर्को सदस्यता शुल्क तोकेपछि प्रत्येक देशमा साधारण सदस्य बन्नेको संख्या हुवात्तै घटेको बताइन्छ ।