१५ बैशाख २०८१, शनिबार
Follow Us

आयरल्यान्ड वल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १३:४०

काठमाडौं । आयरल्यान्ड वल्भ्ससँगको तीन खेलको टि-२० शृङखलाको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । ओपनर लोकेश बमले शतकीय पारि खेलेपनि मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो खेल्न नसक्दा नेपाल ए ले पहिलो खेलको नतिजा पाहुना टोलीलाई सुम्पन्न बाध्य भयो । किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आयरल्यान्ड वल्भ्सले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३ बल अगावै २ सय १ रनमा अलआउट भयो ।

यससँगै वल्भ्सले शृङ्खलामा १-० को अग्रता लिएको छ । १ सय ६ रन बनाएर लोकेश आउट हुँदा नेपाललाई २४ बलमा ३४ रन चाहिएको थियो । त्यसपछि नेपालले २२ बलको अन्तरमा १२ रन जोड्दै ७ विकेट गुमायो । आरिफ शेख ४९ रनमा आउट भए । ओपनर विनोद भण्डारी १६ रनमा आउट भए भने देव खनाल पहिलो बलमै क्याच आउट भए ।

अर्जुन घर्तीले ३ रन मात्र बनाए । मध्यक्रममा किरण ठगुन्ना २ रन, बसिर अहमद ३ रन बनाए भने राशिद खान, हेमन्त धामी र कमल ऐरीले खाता नै खोल्न सकेनन् । आयरल्यान्डका लागि फिओन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले ३-३ विकेट लिए । म्याथ्यु फोस्टरले २ तथा थोमस मेस र ग्याभिन होएले १-१ विकेट हात पारे । यि दुई टोलीबीच भोलि दोस्रो खेल हुने तालिका छ ।