२३ बैशाख २०८१, आईतवार
Follow Us

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०८०, मंगलवार ०६:४४

देशका विभिन्न ठाउँमा लागेको डढेलोले बढायो वायु प्रदूषण
काठमाडौं । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको छ । आजमात्रै काठमाडौंको वायु विश्वकै अस्वस्थकर सूचीमा तेस्रो स्थानमा रहेको विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने एक्यूआईले समेत देखाएको छ ।

काठमाडौं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । अहिले पनि आकाश खुलेको छैन । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यकामा आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको देखाएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

सोमबार विहान काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको हावाको गुणस्तर मापक सूचक एक्यूआईले देखाएको हो । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ मानिन्छ । काठमाडौँको एक्यूआई सोमबार यो समाचार तयार पर्दासम्म १ सय ५९ भन्दा माथी पुगेको थियो । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेकामा दोस्रोमा बङगलादेशको ढाका रहेको छ ।

यसैगरी चौथो स्थानमा मलेसियाको क्वालालम्पुर, पाँचौँ स्थानमा युगान्डाको कम्पाल रहेको थियो । एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ । देशभर लागेको डढेलोका कारण वायु प्रदूषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन चिकित्सकहरुले सल्लाह दिएका छन् । त्यसमाथि पनि प्रदूषण बिहान र बेलुकी अत्यधिक बढ्ने हुँदा सजग रहन उनीहरुको सुझाव छ । एक्युआइको बेभसाइटका अनुसार अहिलेपनि नेपालका बारा पर्सा मकवानपुर लगाएतका जिल्लामा १ सय भन्दा बढी ठाउँमा डढेलो लागि रहेको छ ।