२८ श्रावण २०८२, बुधबार
Follow Us

साझा पार्टीको अपाङ्गता अनुकूल वेबसाइट र घोषणापत्र सार्वजनिक

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार ०८:१३

जन्मदेखि नै दृष्टिविहिन २४ वर्षीय लक्ष्मी नेपालले आज प्रस्तावित साझा पार्टीको अपाङ्गता अनुकूल वेबसाइट (www.sajha.party) सार्वजनिक गरेकी छिन्।

www.sajhaparty.org तथा www.sajhaparty.com बाट पनि प्रयोग गर्न सकिने सो वेबसाइट मार्फत साझा पार्टीले काठमाडौँ महानगरपालिकाका साझा समर्थित मेयर र उपमेयरका उमेदवार किशोर थापा तथा निरूपमा यादवको चुनावी घोषणापत्र पनि सार्वजनिक गरेको छ।

वेबसाइट प्रयोग गरेर त्यसलाई सार्वजनिक गरेपछि द्वन्द्व, शान्ति तथा विकास अध्ययनमा स्नातकोत्तर गरिरहेकी अपांगता अधिकारकर्मी लक्ष्मी नेपालले भनिन्, “दृष्टिविहिनका लागि वेबसाइट सहज बनाउन केही आधारभूत कुरामा ध्यान दिनुपर्छ र साझाको वेबसाइटमा मैले ती सबै कुरा भएको पाएँ।”

करिब ८ हप्ताअघि पार्टी निर्माणको कार्य सुरु गरेको साझा पार्टीले उक्त वेबसाइटमा आफ्ना मूल्य-मान्यता, आदर्श र विचारहरू प्रस्तुत गर्नाका साथै पार्टी दर्ता भइनसकेकोले हाललाई निःशुल्क सदस्यता फारमको व्यवस्था गरेको छ।

लक्ष्मी नेपालले भनिन्, “साधारण जनताले साझा पार्टी के हो भनेर जान्न चाहिने सबै सूचना दिएको रहेछ। प्रायजसो दलहरू राजनीति गर्दा जुलुस गर्ने, टायर बाल्ने बारेमा सोच्दछन् तर सूचनालाई सहज बनाउने बारे सोच्दैनन्। साझा पार्टीले पद्धति र पारदर्शितालाई पालना गरेर हाम्रै जीवनकालमा परिवर्तन ल्याउँछु भनेको रहेछ, जुन मलाई एकदम मन पर्‍यो।”

“अपांगता भएको व्यक्ति पनि राजनीतिमा संलग्न हुन पाउनुपर्छ तर धेरै अपांगता भएका, त्यसमा पनि दृष्टिविहिन, व्यक्तिले आवश्यक सूचना नै पाएका हुँदैनन्। त्यस्तो अवस्थामा साझा पार्टीले वेबसाइटलाई अपाङ्गता अनुकूल बनाएको देख्दा असाध्यै खुसी लाग्य,” नेपालले भनिन्।

प्रेरणादायी जीवन

बाल्यकालमा ल्याबोरेटोरी स्कुलमा ब्रेल भाषा सिकेपछि उनले अरू सामान्य बालबालिकासँगै अध्ययन गरिन्।

उनले करिब सात-आठ वर्षअघि एक जापानी महिलाको सहयोगमा ब्रेल लिपीमा भएको ह्यारी पटरका उपन्यासहरू पढ्न पाइन्। आजभोली उनी इन्टरनेटमा उपलब्ध पुस्तकहरू स्क्रिन रिडरको प्रयोग गरेर पढ्ने गर्छिन्। उनलाई अर्को मनपरेको पुस्तक ‘ट्वाईलाईट सिरिज’ हो जहाँ मानिस र बेरवुल्फ (आधा मानव, आधा व्वाँसो) को प्रेमकहानी उल्लेख छ।

अमेरिकाको मिसौरी स्टेट युनिभर्सिटिमा फुलब्राईट स्कलर भएर एक वर्ष वस्दाको समय आफ्ना लागि सबभन्दा रमाइलो रहेको उनी बताउँछिन्।

“त्यतिखेर बराबर परीक्षा भैरहन्थ्यो र मैले पहिलो पटक कसैको साहारा नलिकन आफैँ कम्युटरमा लेखेर जाँच दिएकी थिएँ। मलाई त्यतिखेर धेरै खुसी लाग्यो किनभने मैले आत्मसम्मानको अनुभूति गरेँ,” नेपाले भनिन्।

धेरै पढिएको