१४ असार २०८१, बिहीबार
Follow Us

नेदरल्यान्ड्सविरूद्ध नेपाल १०६ रनमै अलआउट

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०८१, मंगलवार १८:३०

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भएको छ।

ग्रान्ड प्रिएरी मैदानमा नेपाली समर्थकको भरपुर साथ पाए पनि ब्याटिङमा भने सोचे जस्तो प्रदर्शन हुन सकेन। १५ हजार दर्शक क्षमताको रंगशाला नेपाली समर्थकले भरिएको थियो।

लगातार विकेट गुमाएको नेपालका लागि रोहित पौडेलले ३५ रन जोडे। १६औं ओभरमा सातौं विकेटको रूपमा पेभिलियन फर्कनुअघि रोहितले ३७ बलमा ५ चौका प्रहार गरे।

नेपाली ब्याटर विरूद्ध नेदरल्यान्ड्सका स्पिनर टिम प्रिङगनल हाबी भए। उनले कप्तान रोहितसहित कुशल भुर्तेल र अनिल साहलाई आफ्नो सिकार बनाएका थिए। उनले चार ओभरमा २० रन खर्चिदा ३ विकेट लिए।

नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। ओपनर आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा प्रिङगनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहदा भान वीकको एलबिडब्लूको धरापमा परे।

यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल साह पनि चल्न सकेनन्। उनी आठौं ओभरमा ११ रन जोडेर प्रिङगनलकै बलमा क्याच हुन पुग्दा नेपालले आठौं ओभरमा ४० रन जोड्दा ३ विकेट गुमाएको थियो।

दशौं ओभरमा नेपालले चौथो विकेट गुमायो। कुशल मल्ललाई ९ रनमा भान मकेरेनले म्याक्स ओ’डाउडको हातबाट क्याच गराए। लगत्तैको ओभरमा दीपेन्द्रसिंह ऐरी १ रनमा बास डी लीडको बलमा भान वीकबाट क्याच भए।