१४ असार २०८१, बिहीबार
Follow Us

जनताले काँग्रेसको एकलौटी सरकार चाहेका छन् : संग्रौला

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०८१, सोमबार ०५:२८

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कुनैपनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दुरदराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरूले नै काँग्रेस बचाएको टिप्पणी गरेकी छन् । ती कार्यकर्ताले अब देशमा काँग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ ।

नेता संग्रौलाले देशभरका कार्यकर्ताहरूले पद, प्रतिष्ठा भन्दा पनि बलियो काँग्रेस र एकलौटी सरकार चाहेको जिकिर गरिन् । आइतबार नेपाली काँग्रेस जाजरकोटले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा डा.संग्रौलाले प्रतिपक्षीको भूमिकामा काँग्रेसले खरो उत्रिन नसकेको भन्दै गुनासो गरिन् ।

चुनाव जित्नेहरूले आफूलाई सर्वैसर्वा ठान्ने र हार्नेहरूले दोषारोपण गर्ने प्रवृत्ति हाबी हुँदा काँग्रेसको भविष्य संकटमा पर्ने चिन्ता थपिएको उनको भनाइ छ । उनले नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि बताइन् ।

‘आज चुनाव जित्ने जनप्रतिनिधिहरूले आफू पपुलर भएर र सर्वैसर्वा भएर चुनाव जितेको दाबी गर्छन् । तर पार्टीसँगको सम्बन्ध बिगारेका छन् । टिकट पाएर हार्नेहरू फलानोका कारण हारेको भनेर गीत गाइरहेका छन् । पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन,’ उनले भनिन् ।

उनले टिकट, पद र प्रतिष्ठा नचाहिने सच्चा काँग्रेसीहरू दुरदराजमा बसेर संगठन बनाइरहेको बताइन् ।